शनिबार, अशोज १९, २०८१

‘भतभती पोल्छ’ सार्वजनिक


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको सम्बन्धमा निर्वाचन आयोगले पठाएको पत्रप्रति असन्तुष्टि जनाएको छ । राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन आयोगले पार्टीप्रति देखाएको पूर्वाग्रहलाई लिएर राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय पनि गरेको छ ।

राप्रपाका केन्द्रीय पदाधिकारीको आइतबारको बैठकले आयोगलाई तत्काल जवाफ नदिई उपयुक्त समय कुर्ने निर्णय गरेको पनि महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् । ‘निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्नेसमेत निर्णय गरेको छ,’ राप्रपाको निर्णयमा भनिएको छ ।

राप्रपालाई विधानबाट ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्य हटाउन निर्वाचन आयोगले पत्र पठाएको थियो । त्यस्तै, पार्टी झन्डामा प्रयोग गरिएको गाईको तस्बिर हटाएर अनुसूची संशोधन गर्न पनि राप्रपालाई भनिएको थियो ।

यसरी पत्र काट्नु संविधान र कानुनविपरीत भएको राप्रपाको ठहर छ । ‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा नम्बर ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्नु’ भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावनाविपरीत भएको,’ राप्रपाको ठहर छ ।

गाई चिह्न हटाउन भनेकोबारे राप्रपाले भनेको छ, ‘राप्रपाको मूल्य र मान्यताविपरीत रहेको, विगतमा पार्टीले प्रयोग गर्दै आएको निर्वाचन आयोगले समेत मान्यता प्रदान गरेको राप्रपाको झन्डामा र राप्रपाको चुनाव चिह्नको रुपमा समेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको ।’

राप्रपाको हकमा आयोगले गरेको निर्णय हेर्दा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ ।

निर्वाचन आयोगले २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ ।

आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।

राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ । राप्रपाको हकमा मात्र पूर्वाग्रही निर्णय गरिएको हो भने एमालेको चिन्ह समेत धरापमा पर्न सक्ने राप्रपाका एक केन्द्रिय सदस्यले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत