सोमवार, माघ २८, २०८१

एमसीसी अघि बढ्ने: माओवादी र समाजवादी अनुपस्थित हुने


कान्तिपथ


काठमाडौँ — सरकारले आगामी बुधबार एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि ‘तयार’ भएका हुन् । यथास्थितिमा एमसीसी सम्झौताका पक्षमा मतदान भने नगर्ने दाहाल–नेपालको अडान छ । प्रतिनिधिसभा बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रधानमन्त्री देउवाले जसरी पनि टेबल गर्ने अडान राखेपछि दाहाल र नेपालले गठबन्धन नभत्किने र एमसीसी सम्झौतालाई संसद्मा छलफलका लागि अघि बढाउन अवरोध पनि नगर्नेमा सकारात्मक बनेका हुन् । अनुमोदन गर्ने क्रममा माओवादी र एकीकृत समाजवादी अनुपस्थित भइदिने सम्भावना छ । उनीहरू अनुपस्थित भए उपस्थित सांसदको बहुमतबाट सम्झौता अनुमोदन गर्न सकिने विश्वास प्रधानमन्त्री देउवाको छ । प्रधानमन्त्री देउवा एमालेले एमसीसी सम्झौताकै पक्षमा मतदान गर्छ भन्नेमा ढुक्क छन् । आफैं प्रधानमन्त्री हुँदा चार वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुमोदन प्रक्रियाका लागि सम्झौतालाई संसद् पुर्‍याएका थिए । तत्कालीन नेकपाभित्र चर्को विरोध हुँदा सम्झौता संसद्मा पेस हुन सकेको थिएन ।

एमसीसी अनुमोदन गराउने विषयलाई लिएर सत्ता गठबन्धनको भविष्यमाथि अन्योल खडा हुँदै आएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी सम्झौताकै कारण सत्ताबाट बाहिरिए के गर्ने भन्ने सोचेरै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पनि संवाद बढाएका थिए । ओलीले धेरै अघिदेखि नै गठबन्धन तोडे सरकारलाई बाहिरबाट निःसर्त सहयोग र समर्थन जनाउने बताउँदै आएका थिए । उनले केही समयअघि प्रधानमन्त्री देउवासँगकै भेटमा पनि यस्तो प्रस्ताव गरेका थिए । संसद् अवरोध खुलाउने एजेन्डा बोकेर बालकोट पुगेका प्रधानमन्त्री देउवाले ओलीबाट यस्तो आश्वासन पाएपछि सत्ता गठबन्धनको प्रवाह नगरी एमसीसी सम्झौता अघि बढाउन खोजेका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत