आइतवार, माघ ६, २०८१

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग


कान्तिपथ


वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो । स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३०५, पोर्चुगलबाट तीन हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो ।

सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्नुहुँदै २८ वर्षको अल्पायुमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गर्नुभयो । उहाँले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा सङ्कलन गरिएको रकमको सही सदुपयोग गर्न पनि सुझाव दिनुभयो । स्याङ्जा जिल्ला स्थायी ठेगाना भई वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मीन क्षेत्रीले बताउनुभयो । समाजले विदेशी भूमिमा समस्यामा रहेका नेपालीको सहयोगमा काम गर्दै आएको छ ।

परिवारलाई सुखी राख्ने उद्देश्यसहित विदेशी भूमिमा काम गरिरहेका भाइ अङ्कितको निधनले मर्माहत भएको स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्यालले बताउनुभयो । एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्ने कर्तव्य ठानेर आर्थिक सङ्कलनलाई तीव्रता दिएसँगै उक्त रकम जुटाउन सकिएको अध्यक्ष अर्याल बताउनुहुन्छ । स्याङ्जाको भिरकोट नगरपालिका–५ सिम्ले घर भएका अङ्कित रोजगारीको सिलसिलामा केही महिनादेखि पोर्चुगलमा हुनुहुन्थ्यो । उहाँको गएको माघ १६ गते २८ वर्षको उमेरमा अकस्मात ढलेर निधन भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत