पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थान विशेषका विभिन्न कृषि उपकरणहरु वितरण गरेको छ । बत्तीस थान मिनिटिलर, सात थान धान तथा गहुँ झार्ने थ्रेसर, पाँच थान पशुका लागि चारो बनाउने च्यापकटर, पाँच थान कोदो चुट्ने मिलिट थ र दश थान प्लास्टिकका टनेल वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले कृषि विकास समितिका संयोजक काले गोलेको संयोजकत्वमा सो सामग्री वितरण गर्नुभएकोे कृषि शाखाका प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । अध्यक्ष लामाले गाउँपालिकाले २०७४ सालदेखि नियमित रुपमा कृषि उपकरण वितरण गर्दै आएकाले अहिले उत्पादन वृद्धि भएको बताउनुभयो । उहाँले खेती प्रणालीलाई आधुनिक र व्यवस्थित गर्न सकेमा अझै धेरै उत्पादन वृद्धि हुने जिकिर गर्नुभयो ।
अध्यक्ष लामाले दुई दशमलव पाँच प्रतिशतका दरले उत्पादन वृद्धि भएको जानकारी दिँदै करिब पाँच वर्षको अवधिमा पालिकाले ११० थान मिनिटिलर, २५ थान धान–गहुँ झार्ने थ्रेसर, २५ थान पशुहरुका लागि चारो बनाउने च्यापकटर, २० थान कोदो चुट्ने मिलिट थ्रेसर, २५० थान प्लास्टिक टनेल, २५ थान साना सिँचाइका लागि प्लास्टिकका पोखरी, साना सिँचाइ पाइप आदि सामग्रीहरु अनुदानमा वितरण गरिसकेको जानकारी दिनुभयो । आफ्नो कार्यकालामा करिब ७५ वटाभन्दा बढी कृषि फर्म दर्ता भई व्यवसायमा जुट्न गाउँपालिकाबाट विभिन्न अनुदान कार्यक्रमहरु नियमित गर्दै आएको र व्यावसायिकीकरणमा जुटेका किसानलाई कृषि वस्तुको उत्पादनलाई वृद्धि गर्न तथा बजारीकरणलाई सुनिश्चित गर्न विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अध्यक्ष लामाले विगतमा पशुपालन किसानले भोगेका दुःखलाई दृष्टिगत गर्दै पशु बीमा कार्यक्रम सञ्चालन गरिएकाले उनीहरुको जोखिम न्यूनीकरण हुनाका साथै घरमै पुगी प्राविधिकहरुले बीमा गरिदिने र पशुवस्तुमा भएको क्षतिको बीमा रकम भुक्तानी गर्दै आएको बताउनुभयो ।
कृषि बालीको बीमा गर्ने कार्यमा केही नीतिगत समस्या भए पनि अब तत्काल कार्यान्वयनमा ल्याउन पहल गर्ने लामाले बताउनुभयो । यस गाउँपालिमा करिब ४३ प्रतिशत बाँझो रहेको जमिन आफ्नो कार्यकालमा ३० प्रतिशतमा झार्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । अध्यक्ष लामाले किसानका समस्यालाई आफूले सकेसम्म सम्बोधन गरिरहेको र उनीहरुको आवश्यकतालाई दृष्टिगत गरी उत्पादन वृद्धि गर्न र पालिकावासीको आयआर्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभयो । वितरण कार्यमा सहभागी किसानलाई अनुदानमा पाएको सामग्रीहरु दिगो रुपमा प्रयोग गर्न र एक किसानले अर्को किसानको अनुगमन गरी दिगो रुपमा सामान प्रयोगमा ल्याउने किसानलाई पुरस्कारको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ