शनिबार, मंसिर १६, २०८०

निर्णायक मोडमा एमसीसी: कांग्रेस पास गर्ने, माओवादी सरकार छाड्ने मुडमा !


कान्तिपथ


प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध जारी रहेकै अवस्थामा सरकारले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा टेबल गर्न नसक्ने सम्भावना देखिएकाे छ। संसदीय दलको बैठक, केन्द्रीय कार्यकारिणी समितिबाट एमसीसी संसदमा तत्काल टेबल गर्ने निर्णय गराएको नेपाली कांग्रेसलाई संसदमा गत्यावरोधकै बीच एमसीसी टेबल गर्न सत्ता साझेदार दलहरूले नै साथ नदिने भएका हुन्।

संसद् सचिवालयमा सन्धि, सम्झौताका नाममा दर्ता भएको एमसीसी सम्झौता टेबल गराउनेगरी कांग्रेसले आज फागुन ४ गते बिहान साढे ११ बजे बस्ने प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदको कार्यसूची बनाउन प्रस्ताव लाँदै छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। कार्यव्यवथा परामर्श समितिमा पेस गर्ने प्रस्ताव तयार गर्ने विषयमा मंगलबार दिनभर कांग्रेसका सांसदले छलफल गरेका थिए। तर सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले त्यो प्रस्ताव छलफलको विषय बनाइए पनि संसदमा त्यसले तत्काल प्रवेश पाउने सम्भावना कम रहेको बताए।

कांग्रेसले संसद् बैठकमा उपस्थित हुने सांसदको गणपूरक संख्यालाई आधार बनाएर एमसीसी टेबल गर्ने र पास गर्ने रणनीति बनाएको छ। यस क्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बहिष्कार गर्छन्, त्यसपछि जनता समाजवादी पार्टी, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी गरी तीन दल मिलेर बहुमतका आधारमा एमसीसी संसदबाट पास गर्ने योजना कांग्रेसको छ।

बलजफ्ती एमसीसी टेबल गराए आफूहरू सरकार छाड्ने चरणमा पुग्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए। माओवादी केन्द्र यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा नरहेको उनले बताए। यसैबीच माओवादी केन्द्रले आज (बुधबार) संसदीय दलको बैठक राख्दै छ। दिउँसो बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको हो ।

संसदमा पेस हुने भनिएको एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव जस्ता विषयमा छलफलका लागि संसदीय दलको बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवा बरु गठबन्धन टुटे टुटोस्, तर एमसीसी सम्झौता संसदमा टेबल गराइछाड्ने अडानमा छन्। कांग्रेसले एमसीसीका विषयमा मंगलबार जारी गरेको वक्तव्यले त्यही संकेत गर्छ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबर्जस्ती एमसीसी टेबल गर्ने प्रयत्न गरिए आफ्नो पार्टीले सरकार छाड्ने बताएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन्।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन्। पूर्वसभामुखसमेत रहेका महराले मंगलबार माओवादी केन्द्र कोहलपुर नगर समिति, बाँकेको विस्तारित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले माओवादी एमसीसीको पक्षमा नरहेको बताए। माओवादीका प्रभावशाली नेता महराले संसदबाट एमसीसी पारित गर्न खोजिए बर्तमान सरकार ढल्नसक्ने संकेत गरे।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत