बिहिबार, माघ ३, २०८१

संसद र सडकबाट एमसीसी रोक्दै माओवादीहरु !


कान्तिपथ


कुनै समय एकै पार्टीमा रहेका माओवादीका घटकहरु सदन र सडकबाट एमसीसी रोक्न लागि परेका छन् । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आजका लागि नेपाल बन्दको घोषणा गरेका छन्।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले बुधबार देशव्यापी बन्द आह्वान गरेका हुन्। सरकारले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गरी पारित गर्ने प्रयास गरेको भन्दै कम्युनिस्ट पार्टीहरुले देशव्यापी बन्दको आह्वान गरेका हुन्। एमसीसीविरुद्ध फागुन ५ गते (बिहीबार)देखि थप संघर्षका कार्यक्रमहरु घोषणा गरिने पनि जनाइएको छ।

यता माओवादी आन्दोलनको मूल प्रवाह नेकपा (माओवादी केन्द्र) ले एमसीसी संसदमा टेबल हुन नहुने भन्दै अडान राख्दै आएको छ । संसदीय दलको बैठक, केन्द्रीय कार्यकारिणी समितिबाट एमसीसी संसदमा तत्काल टेबल गर्ने निर्णय गराएको नेपाली कांग्रेसलाई संसदमा गत्यावरोधकै बीच एमसीसी टेबल गर्न सत्ता साझेदार दलहरूले नै साथ नदिने भएका हुन्।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। कार्यव्यवथा परामर्श समितिमा पेस गर्ने प्रस्ताव तयार गर्ने विषयमा मंगलबार दिनभर कांग्रेसका सांसदले छलफल गरेका थिए। तर सत्ता साझेदार नेकपा माओवादी केन्द्रका एक नेताले त्यो प्रस्ताव छलफलको विषय बनाइए पनि संसदमा त्यसले तत्काल प्रवेश पाउने सम्भावना कम रहेको बताए।

बलजफ्ती एमसीसी टेबल गराए आफूहरू सरकार छाड्ने चरणमा पुग्ने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए। माओवादी केन्द्र यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा नरहेको उनले बताए। यसैबीच माओवादी केन्द्रले आज (बुधबार) संसदीय दलको बैठक राख्दै छ। दिउँसो बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा बरु गठबन्धन टुटे टुटोस्, तर एमसीसी सम्झौता संसदमा टेबल गराइछाड्ने अडानमा छन्। कांग्रेसले एमसीसीका विषयमा मंगलबार जारी गरेको वक्तव्यले त्यही संकेत गर्छ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबर्जस्ती एमसीसी टेबल गर्ने प्रयत्न गरिए आफ्नो पार्टीले सरकार छाड्ने बताएपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका हुन्।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन्। पूर्वसभामुखसमेत रहेका महराले मंगलबार माओवादी केन्द्र कोहलपुर नगर समिति, बाँकेको विस्तारित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले माओवादी एमसीसीको पक्षमा नरहेको बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत