सोमवार, मंसिर २४, २०८१

एमसीसीबारे सत्ता गठबन्धनको भोली फाईनल टक


कान्तिपथ


एमसीसी परियोजना पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच नै मतभेद जारी रहेका बेला भोलि (बिहीबार) निर्णायक छलफल हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शिर्ष नेताहरूसँग निर्णायक छलफल गर्न लागेका हुन्।

एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी थियो। सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पनि एमसीसी जुनसुकै हालतमा पनि पास गर्ने निर्णय गरिसकेको थियो। तर, सत्ताघटक नेकपा माओवादी केन्द्रको आजको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी टेबुल गरिए गठबन्धन तोडिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री र प्रचण्डबीचको छलफलपछि आज एमसीसी टेबल नगर्ने सहमति भएको छ। भोलि गठबन्धनको बैठक राखेर निर्णय गर्नुपर्ने विषयमा दुई नेताबीच सहमति बनेको हो।

एमसीसी पास गर्न नहुने भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ। सरकारमा सहभागी रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले नै एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन्।

प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए ।

सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदहरू रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए । नाराबाजी रोकेर बैठक चल्ने वातावरण बनाउन सभामुख सापकोटाले पटक पटक आग्रह गरे पनि एमाले सांसदहरू नरोकिएपछि बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत