मङ्लबार, माघ ८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • अर्बौंको ठेक्कामा सेटिङ्ग हुने आशंका: विवादित ठेकदारलाई ल्याउन तोडमोडको तयारी !

अर्बौंको ठेक्कामा सेटिङ्ग हुने आशंका: विवादित ठेकदारलाई ल्याउन तोडमोडको तयारी !


कान्तिपथ


जीवन लामा (तामाङ्ग) काठमाडाैं । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ठेक्का विवादित ठेकेदारहरुको मिलेमतोमा सेटिङ्गमा लगाउन लागेको सूचना प्राप्त भएको छ ।

गठबन्धन सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी, पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी समेतको मिलेमतोमा पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले सिमित फर्महरुले मात्र प्रतिष्पर्धा गर्न पाउनेगरि ठेक्काको चाँजोपाँजो मिलाएको स्रोतले बतायो । उक्त स्रोतका अनुसार अबको २/३ दिन भित्र ठेक्काको सूचना निकाल्ने तयारी छ । विवादित ठेकदारहरुसँग ठेक्का मिलाएर कमिसन लिनेदिने सेटिङ्ग भने माओवादीका एक नेतालाई आफ्नो मामा बताउने युवराज घर्तिले मिलाएको स्रोतले बतायो ।

अनुमानित ५ अर्ब ३० करोडको ठेक्कामा शर्मा एण्ड कम्पनीका रमेश शर्मा, रसुवा कन्स्ट्रक्सनका मोहन आचार्य र भ्याली कन्स्ट्रक्सनका रविन्द्र महर्जनले चासो देखाएका छन् । शर्मा र आचार्य नेपाली कांग्रेसका नेता समेत हुन्, उनीहरुले सत्ताको दुरुपयोग गर्दै आफु अनुकल सर्त र मापदण्ड राखेर ठेक्काको सेटिङ्ग मिलाउन लागेको बताइन्छ । जानकार स्रोतका अनुसार शक्तिकेन्द्र र मिलेमतोमा संलग्न दृश्य/अदृश्य पात्रलाई मिलाउन पचहत्तर करोडको डिल भएको छ । शर्मा एण्ड कम्पनी र रसुवा कन्स्ट्रक्सनले पाउनेगरि कोटेशन निकाल्न लागीएता पनि भ्याली कन्स्ट्रक्सन भने जोईण्ट भेन्चरमा जान लागेको हो। मुख्यमन्त्री केसी आफ्नो कार्याकालमा पार्टी निकट र आफ्ना नजिकका व्यक्तिहरुलाई सार्वजनिक खरिद ऐन मिचेर ठेक्का सेटिङ्ग मिलाउन व्यस्त रहेको एक निर्माण व्यवसायीको दावी छ ।

स्रोतका अनुसार इन्टरनेसनल कम्पिटेटिभ बिडिङ्ग (आईसीबी) भनिएता पनि देशभित्र कै सिमित फर्महरुको मापदण्ड पुग्ने गरे ठेक्काको सूचना निकाल्न थालिएको छ । भ्याली कन्स्ट्रक्सनका रविन्द्र महर्जन विवादित छवि भएका व्यक्ति हुन् । सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक महर्जन पक्राउ परेका थिए।

महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप लागेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चन्द्रनिगाहपुर–९ मा निर्माण नै नभएको बहुतले अस्पताल भवन निर्माण सम्पन्न भएको भन्दै ४३ करोड ५५ लाख ६०९ संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ भन्ने व्यहोरा उल्लेख गरी किर्ते गरेको पाइएको थियो।

यस क्रममा महर्जनले संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए। महर्जनले सरकारका विभिन्न निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा समेत किर्ते कागजपत्र प्रयोग गरेको ब्युरोले जनाएको छ।

उतिबेला महर्जनको साथबाट आइफोन, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, मागी गुम्बा समिति संस्थाको छापसहितको खाली लेटर प्याड, मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको च.नं. १२६७ को थप रकम निकासा सम्बन्धी लेखिएको चिठीको छाया प्रति बरामद गरिएको थियो।

महर्जनले नै पक्राउ परेपछि तीन जिल्लाका २३ विद्यालय भवन पुनर्निर्माण अलपत्र पारेका थिए । भारतीय दूतावासले ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिसँग २०७२ सालको भूकम्पले भत्काएका धादिङका १०, मकवानपुर र काभ्रेका १३ विद्यालय १५ महिनामै निर्माण सक्ने गरी २०७७ वैशाख १९ मा सम्झौता गरेको थियो ।

धादिङका विद्यालय पुनर्निर्माण गर्न ४४ करोड रुपैयाँमा ठेक्का लागेकामा भ्यालीले २० प्रतिशत रकम पेस्कीसमेत लिइसकेको थियो तर कम्पनीका सञ्चालक महर्जन प्रहरी हिरासतमा पुगेपछि विद्यालय अलपत्र बनेका थिए। उता निर्माण कम्पनीले पुरानो ऋण चुक्ता नगरी कालोसूचीमा परेको भन्दै विभिन्न बैंकले उक्त पेस्की रकमबाटै ऋण असुलेका थिए ।

सिद्धलेक–१ बैरेनीस्थित मिन्दुला मावि पुनर्निर्माण गर्न ८ करोडमा २२ प्रतिशत घटेर निर्माण जिम्मा लिएको भ्यालीले स्थानीय ठेकेदार पुष्प थपलियालाई कामको जिम्मा दिएको थियो । स्थानीय ठेकेदारले पनि विद्यालयका ६ वटा साना–ठूला भवन भत्काएर गत वर्षकै वैशाखमा निर्माण थालेका थिए । घडेरी सम्याउन नपाउँदै मुख्य ठेकेदार पक्राउ परेपछि निर्माण कार्य अलपत्र परेका थिए। ज्वालामुखी गाउँपालिकाका चारवटा विद्यालय पनि पुनर्निर्माण गर्ने भन्दै भत्काएर स्थानीय ठेकेदारले अलपत्र छाडेका छन् । भ्याली कन्स्ट्रक्सन प्रालीका संस्थापक नुच्छे महर्जनबाट उनले २०६४ सालमा उक्त कम्पनी खरीद गरी निर्माण व्यवसाय शुरु गरेका हुन् ।

तीन जिल्लाका २३ विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भ्याली कन्स्ट्रक्सनले सबैतिरका काम सेटिङ्गमा पार्दै अलपत्र बनाउदै आएको छ । अब भ्यालीको नजर ठुलो बजेटको लुम्बिनी प्रादेशिक अस्पतालमा आएको छ। केहि दिनमा ठेक्काको सूचना निकालिने भएकाले यससम्बन्धि अडियो, भिडियो र खानपिनको बिल समेतको समाचार कान्तिपथमा प्रकाशित हुनेछन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत