पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरू भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन गराउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।
एमसीसी सम्झौता संसद्मा टेबल गर्ने विषयमै गठबन्धनभित्र विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि निर्णायक छलफल गर्न बैठक बोलाएका हुन् । भर्खरैदेखि बैठक सुरू भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।
उनका अनुसार गठबन्धनमा एकमत नभएपनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी छ । त्यसका लागि प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन् । सरकारले बुधबारको बैठकमै टेबल गर्न प्रस्ताव गरेपनि गठबन्धनभित्रको विवादले प्रधानमन्त्री देउवा अन्तिम समयमा एमसीसी टेबल गर्नबाट पछि हटेका थिए । गठबन्धनमा कांग्रेसबाहेक सबै दल एमसीसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।