एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् । माओवादी र एकीकृत समाजवादीले गत शनिबार भएको समझदारी विपरित एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय लिएपछि आक्रोशित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैकल्पिक गठबन्धन निर्माणका लागि समेत कसरत थालेका हुन् । उनले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएका छन् ।
स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए । बेलुका ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने ठोस जवाफ कांग्रेस नेताहरुलाई दिईसकेका छैनन् ।
प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबुल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्याउने र प्रधानन्यायायधीश चोलेन्द्र शमसेर राणाबिरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको थियो ।
समझदारी अनुसार जबराबिरुद्ध महाअभियोग दर्ता भएपनि माओवादीका कारण बुधबार एमसीसी टेबुल हुन नसकेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका छन । देउवाले बैकल्पिक सत्ता गठबन्धनको बाटो समेत लिन सक्ने बुझेरै दाहालले विहान सरकारबाट अलग भएपनि सरकारको समर्थन भने फिर्ता नलिने बताएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ