एमसीसीका विषयमा निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक अहिले बालुवाटारमा सकिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिएको छ । भोलि बिहान ९ बजे पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथी सत्तारुढ पार्टीका प्रमुख नेता सहभागी थिए । भोलि बोलाइएको संसद बैठकको पूर्वसन्ध्यामा गठबन्धनको निर्णायक बैठक बसेको हो । आजको बैठकले भोलि एमसीसी संसदमा टेबल गर्ने विषयमा टुंगो लगाउने बताइएको थियो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू थिए । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठकमा थिए ।
माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बसेका थिए । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल थिए । यस्तै जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता थियो। सत्तारुढ गठवन्धनको राष्ट्रिय जनमोर्चाको भने प्रतिनिधित्व थिएन ।