प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
बैठककाे दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन। सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने भनेर राखिएको छ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसदमा एमसीसी टेबल गर्ने बताएका छन्। तर कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट हेरफेर पनि गर्न सकिन्छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल गर्न सभामखु अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राख्दै छन्।
तर गठबनधनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन्। गठबन्धनका नेकपा माओवादी केन्द्रलगायत दलले संसदमा जारी एमालेको अवरोध नखुलाई, एमसीसी संशोधन नगरी र राष्ट्रिय सहमति नजुटाई एमसीसी संसदमा लान नमिल्ने जिकिर गरिरहेका छन्।
बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि सत्ता गठबन्धनका दलले उही अडान राखेपछि कुरा मिलेन। आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्।