रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट यान्त्रिक परीक्षण उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा भएको जनाएको छ । परीक्षण उडानका लागि हिजो साँझ विमान भैरहवा आएको छ । विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमानस्थलमा आइपुगेको हो ।
पाइलट, को–पाइलट, प्राविधिकसहित ७ जनाको टोली हवाइजहाजबाट आएको विमानस्थलको महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । आयोजनाले प्राधिकरणलाई दिएको जानकारी अनुसार बिहान र साँझ गरी २ वटा दैनिक परीक्षण उडान हुनेछन् ।
परीक्षण उडानका क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आन्तरिक उडान बन्द रहनेछन् । यसबाट यात्रुलाई पर्न जाने समस्यालाई मध्यनजर गर्दै प्राधिकरणले मौसमले साथ दिए सो अवधिका लागि बिहानैबाट १० बजेसम्म र साँझ ५ बजेपछि विमानको माग अनुसारको समयसम्म उडान भर्ने सुविधा दिने विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । १५ गतेसम्म यो उडान रहने छ ।