नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए।
‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन। अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो? कसैले बताइदिनुपर्यो’, उनले भने।
सित्तैमा आएको अनुदान नचाहिने भएपछि ऋण किन लिने? उनको भनाइ थियो। उनले आफू एमसीसीका सन्दर्भमा संसद्मा छलफल कुरिरहेको बताए।
‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो। एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो’, उनले भने, ‘यहाँ त ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।’
नेपाली कांग्रेस एमसीसीलाई प्रतिनिधि सभाबाट अनुमोदन गर्दै कार्यान्वयन हुनुपर्ने पक्षमा छ। तर, उसको प्रयासका बाबजुद पनि एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुन सकेको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ