नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो।
शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि अमेरिकाले सचेत गराएको हो। नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसीबारे वास्तविकतामा आधारित बहस र टिप्पणीलाई सधैँ स्वीकार्ने बताएका छन्।
उनले एमसीसीबारे अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भएको बताउँदै त्यो लोकतन्त्रमा अन्तर्निहित अधिकार हो भनेका छन्। तर राजदूत बेरीले एमसीसीको विरोधका नाममा हुने हिंसात्मक गतिविधि कदापि स्वीकार्य नहुने जनाएका छन्।
सरकारले एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठनसहित विभिन्न साना कम्युनिस्ट घटकहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण शुक्रबार दिउँसो राजधानीको बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो । प्रदर्शनकारीले सो क्रममा सडकमा टायरसमेत बाल्दै एमसीसीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।