एमसीसीको विरुद्धमा आज पनि ६ बामपन्थी दल सडक आन्दोलन गर्ने भएका छन्। संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित ६ राजनीतिक दल एमसीसीविरुद्धको सडक गर्ने भएका हुन्।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने जनाएका छन्।
उनीहरूले एमसीसीको विरुद्धमा माइतिघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम गर्दै आएका छन्। यसका साथै उनीहरूले देशव्यापी रूपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेका छन्।
सोही कार्यक्रमअन्तर्गत आज उनीहरूले देशैभरविरोध प्रदर्शन गर्ने भएका हुन्। लामो वादविवादपछि सत्ता गठबन्धनका सबै दलहरू एमसिसी प्रतिनिधिसभामा टेबल गर्न तयार भएका छन्।
नेकपा माओवादी केन्द्रका एक नेताले उनको पार्टी पनि एमसिसी संसदमा टेबल गर्न दिन तयार भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले पनि आज एमसिसी प्रतिनिधिसभामा टेबल हुने सहमति हुने बताए।
उनले भने, ‘कदाचित एमसिसी टेबल भएन भने त्यही क्षणबाट गठबन्धन बिसर्जन हुन्छ।’ आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे।
एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज एमसिसी टेबल हुन दिनुपर्ने पक्षमा उभिइसकेको भन्दै उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि त्यसमा मनाउने बचन उहाँले दिनुभएको छ।’
पाँच दलीय गठबन्धनमध्ये चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विपक्षमा छ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सभामुख अग्नि सापकोटाले ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन्।
उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्ने बताइएको छ। आजै १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन्। सत्ता गठबन्धनभित्र एमसिसी टेबल गर्ने विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा समाजवादीले शनिबार एमसिसी टेबल हुन दिने निर्णय गरे पनि पार्टीभित्र विवाद छ।
वरिष्ठ नेता झलनाथ खनालको समूहले एमसिसी यथाअवस्थामा टेबल हुन दिनु हुँदैन भन्ने पक्षमा छ। नेकपा माओवादी केन्द्रले एमसिसी टेबल गर्न नदिने भनिरहेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ