पाँच दलीय गठबन्धनको आइतवार बालुवाटारमा बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गर्न दिने सहमति जुटाएको छ। यसअघि एमसीसीको विरोधमा रहेका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र पनि सहमति भएपछि आइतवारकै संसद बैठकमा एमसीसी टेबुल गरिने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
तर बालुवाटारको यो बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बुँदे शर्त राखेको उनको सचिवालयले जनाएको छ। प्रचण्डका एकजना स्वकीय सचिव रमेश मल्लका अनुसार पाँच दलका शीर्ष नेताको बैठकमा प्रचण्डले कुनै पनि विधेयक संसदमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वभाविक प्रक्रिया भए पनि सदनमा अवरोध जारी रहेको अवस्थामा सभामुखलाई दबाब दिन उचित नहुने बताएका थिए।
प्रचण्डले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन भनेका थिए। प्रचण्डले यदि एमसीसी संसदमा लैजाने हो भने आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी गर्नुपर्ने भनेका थिए।
माओवादीले एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्न दिने भए पनि विपक्षमा मत हाल्ने रणनीति बनाइसकेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ