आइतवार, अशोज २७, २०८१

संसदमा एमसीसी पेश: एमालेको नीति विरुद्ध उभिएर बोले भिम रावल


कान्तिपथ


प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने जानकारी दिएका हुन्। आजको बैठकमा सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्। तर, सत्तारुढ दलकै सांसद्हरूले त्यसको विरोध गरेका छन् ।

बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरिरहेका बेला सत्ता गठबन्धनसम्बद्ध नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका सांसदहरूले समेत विरोध जनाएका हुन् । बैठकमा नेकपा एमालेले आफ्नो निरन्तरको विरोधलाई जारी राखेको छ भने सत्तारुढ दलहरूले एमसीसी सम्झौता टेबल भएकोमा विरोध जनाएका हुन् ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार अघिल्ला सरकारहरुको अविच्छिन्न उत्तराधिकार रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेस गरेको बताएका हुन् ।

प्रतिनिधिसभामा एमसीसीको विपक्षमा रहेका सांसदहरुको नाराबाजीकै बीच मन्त्री कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् । सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने सरकारको विश्वास छ । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए ।

मन्त्री कार्कीले सम्झौता टेबल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गते बस्नेगरी बैठक स्थगित गरेका छन् । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्न लागेकोमा विरोध गरेका छन् ।

संसदको आइतबार बसेको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरिरहँदा रावलले भने समय लिएर बोकेका छन् । एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्ने भन्दै उनले भने, ‘यस्तो विषयमा प्रमुख प्रतिपक्षीले विरोध गरिरहेको, सरकारमा रहेका दलहरुको बीचमा सहमति नभइरहेको अवस्थामा यसरी जनताको भावना विपरित टेबल गरिनु आपत्तिजनक छ ।’ एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत