प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् ।
प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’ प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए ।
प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।
बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरे भने सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे । सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्बन्धी कार्यसूची तय गरेको थियो ।
एमसीसीको टेबल भएपनि सडकमा सत्तापक्षीय दलकै भातृसंगठनले विरोध जारी राखेका छन् भने जनस्तरमा पनि विरोध भइरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ