सरकारले एमसीसी संसद्मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ ।
प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् ।
उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा दर्जनौँ घाइते भएको बताइएको छ । प्रदर्शन गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसहित साना कम्युनिस्ट घटकहरू पनि रहेका छन् । प्रहरीसँगको झडपको क्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पंचा सिंह घाइते भएकी छन् ।
एमसीसीको विरोधमा गरिएको प्रदर्शनका कारण काठमाडौँको नयाँ बानेश्वर क्षेत्र आइतबार दिनभर तनावग्रस्त रह्यो । प्रतिनिधि सभामा सत्तारुढ दलकै असहमतिका बीच एमसीसीलाई टेबल गरिरहँदा बानेश्वरका सडकमा प्रदर्शनकारी र प्रहरी भिडिरहेका थिए ।
बिहान शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन दिउँसो भएपछि हिंस्रक बन्न पुग्यो । आन्दोलनकारीहरूले प्रहरीमाथि ढुङ्गाहरू बर्साइरहे भने प्रहरीले पनि उनीहरुमाथि पानीको फोहरा, अश्रुग्याँस, लाठीदेखि रबरको गोलीसम्म प्रहार गरे । झडपका क्रममा आन्दोलनकारी र प्रहरी घाइतेसमेत भएका छन् ।
आन्दोलनकारीले बता एअनुसार दर्जनौँ घाइते भएका छन् । अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, वाईसीएलका सहयोजक सुवोध श्रीपालीसहित दर्जन बढी घाइते भएका हुन् । अनेरास्ववियु क्रान्तिकारी पुर्वान्चल विश्वविध्यालय राष्ट्रिय समितिका प्रमुख सचिव सन्दिप पुनका अनुसार हिलसाइड इन्जिनियरिङ्ग कलेजका अध्यक्ष समिर संगम, व्हाइटहाउस इन्जिनियरिङ्ग कलेजका अध्यक्ष सुवास जोशी, जियोमेट्रिक इन्जिनियरिङ्ग कलेजका अध्यक्ष बिक्किराज महत लगायत दर्जनौ नेता-कार्यकर्ता घाइते छन्। उनीहरुको सिभिल अस्पतालमा उपचार भैरहेको पुनले बताए ।
भीडलाई नियन्त्रणमा लिने क्रममा ११५ जना अश्रु ग्यास प्रहार गर्नुका साथै ३० राउण्ड रबरको गोली प्रहार भएको जनाएको छ । यस्तै प्रहरीले ढुंगामुढा छेक्ने २५ वटा ढाल फुटेको पनि जनाएको छ ।