पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै महराले कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको स्पष्ट पारेका हुन् ।
उनले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको निन्दासमेत गरेका छन् ।
महराको विज्ञप्ति:
प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पेस भएको घटनाप्रति हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ।
सत्तारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ। देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ।
एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको घोर भत्सर्ना एवं निन्दा व्यक्त गर्दछु। साथै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि सरकारसँग जोडदार माग गर्दछु।
कृष्णबहादुर महरा
पूर्वसभामुख एवं नेता, नेकपा (माओवादी केन्द्र)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ