जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण चन्द्रकुमार पोखरेल भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको पाइएको छ। १८ पदका लागि भएको परीक्षामा जम्मा तीन जना मात्रै उत्तीर्ण भएकोमा उनी दोस्रो नम्बरमा परेका छन्।
न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण भएका पोखरेल अख्तियार दुरुपयोग अनुसन्धन आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको भ्रष्टाचार मुद्दाका प्रतिवादी भएको खुलेको हो।
अख्तियारले एक महिनाअघि ९ सिमेन्ट उद्योगसहित खानी तथा भुगर्भ विभागका ९ कर्मचारीविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ रुपैयाँ राजश्व हिनामानी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
उपन्यायाधीवक्ताका रुपमा खानी तथा भुगर्भ विभागमा डेढ वर्षअघि कार्यरत पोखरेल उक्त भ्रष्टाचार मुद्दामा तानिएका हुन्। विभागले गठन गरेको समितिमा रहेर पोखरेलसहितका कर्मचारीले राज्यलाई करोडौँ घाटा हुने गरी आर्थिक प्रभावमा परेर स्वीकृत मापदण्ड भन्दा बढी खानी उत्खनन् गर्ने उद्योगलाई कम जरिवाना गरी राज्यलाई घाटा पुर्याएको दाबी अख्तियारले गरेको छ।
अख्तियारले गत माघ १२ गते दायर गरेको मुद्दामा उनलाई सरकारी छानबिन समितिमा रही बदनियत पूर्वक भए गरेका कुरा लुकाई प्रतिवेदन दिएको दाबी गर्दै तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि पचास हजारसम्म जरिवाना माग गरेको छ। लिखित परीक्षा उत्तीर्ण भुवन गिरीलाई भने गत १४ माघमा बसेको न्याय सेवा आयोगको बैठकले सहसचिवमा बढुवा गरिसकेको छ।
१२ माघमा विशेष अदालत काठमाडौंमा दायर मुद्दामा ‘उपन्यायाधिवक्ता पोखरेल लगायतले १५ जेठ २०७७ मा खानी तथा भूगर्भ विभागद्वारा गठित समितिमा बसेर कानूनको आफूखुशी गलत व्याख्या गरी कम्पनीहरूलाई क्षतिपूर्ति असुल्नबाट उन्मुक्ति दिने बदनियत राखेको’ उल्लेख छ।