अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल भएपछि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीमा तीव्र विवाद भएको छ। सम्मानित नेता झलनाथ खनालसहित एमसीसीको विपक्षमा उत्रिएपछि केन्द्रीय सचिवालय बैठक डाकिएको हो।
यो पार्टीको सचिवालय बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ। गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने निर्णय लिएको थियो। तर संशोधन नगरी पास गर्न नहुने उसको निर्णय थियो।
पार्टीका सम्मानित नेता खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नभएको भन्दै विरोधमा उत्रिएका छन्। एमसीसीलाई लिएर गरेको निर्णय विवादमा परेपछि शनिबार पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दुई वटा विज्ञप्ति निकालेका थिए।
उनको विज्ञप्तिले कुरा प्रष्ट नभएको भन्दै महासचिव डा. बेदुराम भुसालले अर्को विज्ञप्ति निकालेर एमसीसी संसदमा लैजान दिने निर्णय भएको जनाएका थिए। अध्यक्ष माधव नेपालले आइतवारको संसद बैठकपछि बोल्दै आफूहरुले एमसीसी टेबल गर्न मात्रै दिएको बताए। ‘हामीले टेबल गर्न मात्रै दिएका हौँ’, उनले भनेका थिए, ‘तर यथाअवस्थामा पास गर्न दिँदैनौँ। सरकार जेसुकै होस्।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ