सोमवार, माघ ७, २०८१

प्रचण्ड र ओली मिल्न नदिने दाउ !


कान्तिपथ


सत्तारुढ पाँच दलीय गठबन्धनबाटै अमेरिकी सहायता परियोजना एमसीसी पास गराउन कांग्रेस नेता रामचन्द्र पौडेल सक्रिय भएका छन्। आइतवार संसदमा एमसीसीसम्बन्धी प्रस्ताव पेस भएपछि सत्तारुढ गठबन्धनको समन्वय समिति संयोजक पौडेलले सोमबारदेखि दौडधूप सुरु गरेका हुन्।

एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धन कायमै राखेर एमसीसी संसदबाट पास गर्ने योजनासहित पौडेलले राजनीतिक भेटघाट तीव्र पारेका हुन्। पौडेलले सोमबार दिउँसो सिंहदरबारमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग संवाद गरिरहेका छन्।

पौडेलले सोमबारै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गर्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रमक रहँदै आएका पौडेल आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनसम्मै गठबन्धन कायम गरेर लैजाने गरी नेताहरुसँग भेटघाटमा जुटेका हुन्।

गठबन्धन नजोगाए प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग मिल्ने संशय पौडेलमा देखिएको छ। उनीहरु मिले कांग्रेस अबको निर्वाचनमा पनि २०७४ कै जस्तो परिणाम भोग्न बाध्य हुने डरले उनलाई पिरोलेको छ। पौडेल आफैं पनि तनहुँमा पराजित भएका हुन्। प्रचण्डलाई ओलीसँग मिल्न नदिन गठबन्धन जोगाउनुपर्ने पक्षमा सक्रिय भएका उनीनिकट एक नेताले बताएका छन्।

आइतवार प्रतिनिधिसभामा पेश गरिएको अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी विधेयक पास गर्ने रणनीति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल अघि बढाएका छन्। कांग्रेस सभापतिसमेत रहेका देउवाले त्यसका लागि सोमबार दिउँसो आन्तरिक छलफल गर्दैछन्। त्यसका लागि उनले सोमबार दिउँसो कांग्रेस पदाधिकारीसहित शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्।

संसदमा एमसीसी टेबल भए पनि सत्ता साझेदार मा‌ओवादी केन्द्र र एकीकृत समाजवादी पास गर्न नदिने अडानमा बसेपछि देउवाले विकल्पको खोजीमा संवाद थालेका हुन्। देउवाले बोलाएपछि महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महतसहितका नेताहरु अहिले बालुवाटार पुग्दैछन्।

सत्ता साझेदार दलहरु नै एमसीसीको विरोधमा रहेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पास गराउन सहज छैन। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारितका लागि समर्थन गर्न नसकिने बताएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत