च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिलेलाई पराजित गर्दै चेल्सी विजयी भएको छ। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले लिलेलाई २-० ले पराजित गरेको हो।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले जित निकालेको हो। चेल्सीको जितमा काइ हाभर्टेजले ८औं मिनेटमा र क्रिस्टियन पुलिसिचले ६३औं मिनेटमा गोल गरेका थिए। यी दुई टोलीबीच मार्च १७ मा दोस्रो लेगको खेल हुनेछ।
युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब युभेन्ट्स बराबरीमा रोकिएका छन्। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा स्पेनिस घरेलु टोली भिल्लारियल र युभेन्टस १-१ गोलको बराबरीमा रोकिएका हुन्।
युभेन्टसका डुसन भ्लाहोबिकले खेलको पहिलो मिनेट नबित्दै गोल गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो डेब्यु गोल गर्ने खेलाडी बने।
पहिलो हाफमा युभेन्टस एक गोलले अघि रहे पनि दोस्रो हाफमा घरेलु टोली खेलमा फर्कन सफल भयो। खेलको ६६औं मिनेटमा डानी परेजोले गोल गर्दै खेल बराबरीमा ल्याए। यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १७ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ।