शनिबार, अशोज १९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • रक्तचन्दनको जालो: ७० लाख पचाउने DFO १२ वर्षमा डामिए, सेटिङ्गवाला एसपी किन उन्मुक्त ?

रक्तचन्दनको जालो: ७० लाख पचाउने DFO १२ वर्षमा डामिए, सेटिङ्गवाला एसपी किन उन्मुक्त ?


कान्तिपथ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन छन् ।

वन अधिकृत मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भनी घुस लिई फरार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा वन अधिकृत मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ लिएको पुष्टि हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीविरुद्ध ७० लाख रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

वन अधिकृत मिश्रको छोरा नविनले वुवाले घुस बापत लिएको रकममध्ये ४० लाख रुपैयाँ आफ्नो बैंक खातामा राखी भ्रष्टार गर्न सहयोग गरेको अख्तियारले जनाएको छ । नविनसँग ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

वन अधिकृत मिश्रलाई घुस उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनले २५ लाख रुपैयाँ बुझेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले बताएको छ । ग्लाल्जेनको मृत्यु भइसकेको भएपनि उनीविरुद्ध दायर मुद्दामा २५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष पुरानो घटनाको सम्बन्धमा २०७८ फागुन पहिलो साता विशेष अदालतमा ७० लाख घुस रिसवत लिएको भन्दै मुद्दा दायर गरेको थियो ।

हुन त यो घुस प्रकरणको सुरुवात २०६६ असोज महिनामै भए पनि यस सम्बन्धमा अख्तियारमा उजुरी भने २०७४ भदौ ५ गतेमा मात्रै परेको थियो । चिनियाँ नागरिक चिहे लुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरेपछि अख्तियारले हदम्याद सकिनै लाग्दा एकाएक यो मुद्दा जगाएको हो ।

मिश्र मध्यसम्म जिल्ला वन कार्यालय रसुवामा प्रमुख भइ काम गरेका थिए । मिश्रले आफ्ना छोरा नवीनकुमार मिश्रको नाममा रहेको इन्भेष्टमेण्ट बैंकमा रहेको खातामा ४० लाख हाल्न लगाएको र ३० लाख रुपैयाँ नगद नै लिएको उजुरीमा उल्लेख छ । अख्तियारले प्रतिवादी बनाइएका विष्णुकान्त मिश्र र नवीनकुमार मिश्रले पनि आफ्नो खातामा ४० लाख रुपैयाँ आएको स्वीकार गरेका छन् तर उक्त रकम पछि फिर्ता गरिएको बयान अख्तियार समक्ष दिएका छन् ।

रक्तचन्दन तस्करीको हब मानिने रसुवाका तत्कालिन डिएफओ मिश्र १२ वर्षपछि घुस काण्डमा डामिदा रसुवा मै कमाण्ड सम्हालेका तत्कालिन डिएसपी हालका एसपी ओमबहादुर राना आकर्षक पोष्टिङ्ग खादै हिड्ने गरेका छन् । राजनीतिक पहुँचको भरमा इन्चार्ज पाइरहने राना पनि एकपछि अर्को काण्डमा मुछिँदै आएका छन्। उनले रसुवामा रक्तचन्दन तस्करलाई सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। त्यो घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा पहुँचको आधारमा रानाले भने कारबाहीबाट उन्मुक्ति पाएका थिए। त्यसअघि बौद्धमा कार्यरत रहँदा पाकेटरमारसँग पैसा असुली गरेको आरोप पुष्टि हुँदा पनि उनी कारबाहीका भागिदार बनेनन्।

२०६८ भदौमा रक्तचन्दन चीनतर्फ तस्करी गर्न सहयोग गरेको आरोपमा तत्कालीन रसुवाका डीएसपी ओम राना र नुवाकोटका डीएसपी बालकृष्ण थापालाई सरुवा गरिएको थियो । थापा नक्कली प्रमाणपत्र प्रकरणमा अदालतबाट दोषी प्रमाणित भई जागिरबाट बर्खास्त भइसकेका छन् ।

रक्तचन्दन तस्करीमा मिलेमतो भएका नेपाली सेनाको रसुवास्थित अर्हिदमन गणका कर्णेल रामजी थापालाई त्यतिबेलै कोर्टमार्सल गरी बर्खास्त गरिएको थियो । तर प्रहरीका डीएसपी रानालाई भने नेताहरुको आशीर्वादमा जोगाइएको थियो । रानालाई रसुवा सरुवा हुनासाथ सुन तस्करीका डिजाइनर मानबहादुर तामाङले कार नै उपहार दिएको चर्चा पनि चल्ने गरेको छ ।

२०६८ वैशाख अन्तिम साता रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो भने ना ३ ख २८९४ नम्बरको ट्रकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको थियो । सो रक्तचन्दन सेनाको ब्यारेक हुँदै पास गराउनमा डीएसपी राना र सेनाका कर्णेल दुवैको मिलेमतो थियो । प्रहरी प्रधान कार्यालयले नेपालगञ्जमा पक्राउ परेका एक काठ तस्कर हत्कडीसहित भागेपछि पनि छानबिन गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत