एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् ।
दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले उल्लेख गरेका छन् । ‘ममाथि लगाइएको ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’ पलले लेखेका छन् ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जबरजस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडीदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो’ पलले फेसबुकमा लेखेका छन् ‘घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत विभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औँलाइदिनुहोला । यदी म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’
पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार उजुरी परेको थियो । एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जबरजस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।
यस्तो छ जाहेरीमा उल्लेख विवरण :
जाहेरवाला म कृषि पेसा व्यवसाय गरी श्रीमती, छोरी छोरा सहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्ष १६ की परिवर्तित नाम थर ०७८।७९ व्यास- १२ विगत ३ वर्ष देखी गायन क्षेत्रमा ख्याति कमाई स्वर राम्रो भएको कारण सामाजिक सञ्जालहरूमा समेत चर्चित भई इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन्।
यसै क्रममा विभिन्न राष्ट्रिय कलाकारहरूसँग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन, विगत अन्दाजी ३ महिना अगाडी देखी छोरी गीत सङ्गीतमा तेती धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले नाबालक छोरीलाई के भएछ भनी म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले छोरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैरास्यता देखेपछि उनलाई निकै अनुरोध पश्चात् निजले आफ्नो घटनाको बारेमा बताए अनुसार प्रकरण नं. ३ मा उल्लेखित नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण विक्रम शाह (पल शाह) सँग मिति २०७७/०६/२२ गते (तदनुसार ई.स. 08-10-2020) गते काठमाण्डौमा ‘पिपलु वर’ भन्ने बोलको गीतको भिडियो सुटिङ गर्ने क्रममा पहिलो पटक भेटघाट भई फेसबुक आइडी र फोन नं. • समेत आदान प्रदान भएको रहेछ, क्रमिक रूपमा नाबालक छोरीसँग भेट हुँदा निज पूर्ण विक्रम शाहले देखावटी रूपमा माया प्रेम गरेको बाहान गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन्।
निज पूर्ण विक्रम शाह र मेरी नावालिका छोरीले संयुक्त रूपमा पिपलु वर, माया कति सम्झने तथा सुर्ती माड्दा माड्दै लगायतका म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राती होटलहरुमा बास बस्ने क्रममा पटक-पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हुन नसकेको रहेछ।
यसै क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेश थापा, योगेस काजी, सम्राट् चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाका बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाण्डौको बसाइँमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्।
त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमिलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्ल गण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नावालीका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजेतिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढकढक गर्न आएका रहेछन्।
छोरीले कोठा खोल्दिए पश्चात् निज प्रतिवादी छोरी सुतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बाहान बनाइ तिमिले काठमाण्डौको कोठा सर्नु पर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिन भनी उमेर पुगेपछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदाहुँदै जवर्जस्ती करणी गरेका रहेछन्।
छोरीलाई माया गरेको देखाउनको लागी वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दुलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन्। निज प्रतिवादीले यस भन्दा पहिले पनि मिति २०७७/०९/१० गते पोखरा स्थित होटेल प्राइममा र मिति २०७७/१२/०७ गते चितवन स्थित गैँडाकोट रिपोर्टमा पटक पटक जवर्जस्ती करणी गरेका हुँदा यसरी मेरी नावालीका छोरीलाई माया प्रेम गरेको, विभिन्न गीतहरूको सुटिङ हुँदाको बखत छोरीको हेरविचार गरेको बहाना समेत गरी माया प्रेमको झुटा नाटक गरी जवर्जस्ती करणी गर्ने निज पूर्ण विक्रम शाह भन्ने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) विपरीतको कसुर अपराधमा कडा भन्दा कडा कारबाही गरी कानुन बमोजिम गरी ऐ. संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति समेत दिलाई भराई पाउँ।