संसद्मा एमसीसी सम्झौतामाथि छलफल हुने दिन अर्थमन्त्री भने घुमघाममा व्यस्त छन्। विभागीय मन्त्री भने आजको संसद् बैठकमा उपस्थित हुने छैनन्। अर्थमन्त्री शर्मा अहिले पर्वतमा घुमघाममा व्यस्त छन्। यसअघि गत आइतबार एमसीसी संसद् बैठकमा टेबुल गर्ने दिन पनि शर्मा उपस्थित भएनन्। उनको अनुपस्थितिमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई संसद्मा टेबुल गरेका थिए। बिरामी भएको भन्दै उनी अनुपस्थित रहे।
अहिले भने शर्मा पर्वत र बाग्लुङ घुम्न गएका छन्। हिजो बुधबार बेलुका नै पर्वत पुगेका शर्माको अहिले बिहान बाग्लुङको आकाशे रेष्टुरेन्टमा खाजा खाइरहेको भिडियो भाइरल भइरहेको छ। शर्माले बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा बसेर नास्ता गरेका हुन्। कालीगण्डकी खोंचमा नदीदेखि २५५ मिटर अग्लो भीरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर आनन्द लिएका हुन्।