मङ्लबार, मंसिर १२, २०८०

एमसीसीबारे व्याख्यात्मक टिप्पणीमा अमेरिका सकारात्मक


कान्तिपथ


अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतामा नेपालका सत्तारुढ दलको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक कांग्रेस नेताका अनुसार अमेरिकाले व्याख्यात्मक टिप्पणीबारे सकारात्मक जवाफ दिएको छ।

‘व्याख्यात्मक टिप्पणीको मस्यौदा अमेरिकालाई पनि पठाएका थियौँ। त्यसपछि पटक—पटक उनीहरुसँग कुराकानी पनि भयो’, उनले भने, ‘उनीहरुको तर्फबाट व्याख्यात्मक टिप्पणीप्रति सकारात्मक जवाफ आइसकेको छ।’

संसदबाट व्याख्यात्मक टिप्पणी पारित भएपछि त्यसबारे अमेरिकालाई जानकारी पठाइने उनले बताएका छन्। आइतवार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसीसँगको सम्झौता संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ।

एमसीसी सम्झौता संशोधनबिना पास गर्न नहुने अडानमा रहेका सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पनि व्याख्यात्मक टिप्पणी गरेर एमसीसी सम्झौता अनुमोदन गर्न राजी भएका हुन्।

व्याख्यात्मक टिप्पणीमा एमसीसी सम्झौता अमेरिकाले अघि सारेको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग नभएको, एमसीसीसँगको सम्झौता नेपालको संविधान र कानुन भन्दामाथि नरहेको र एमसीसी नेपाल कम्प्याक्टको लेखा परीक्षण नेपालमा हुने लगायत विवादित बिषयमा प्रष्टीकरण समावेश हुनेछ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आफ्ना सांसदहरूलाई एमसिसी सम्झौतासँगै पारित हुन लागेको यसको व्याख्यात्मक टिप्पणीको प्रस्ताव बाँडेको छ। संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलको बैठकमा सहभागी सांसदहरूलाई व्याख्यात्मक टिप्पणी बाँडिएको हो।

एमसिसीसँगै पारित हुन लागेको व्याख्यात्मक टिप्पणी ११ बुँदाको छ। व्याख्यात्मक टिप्पणीबारे अहिले माओवादी सांसदहरूले छलफल गरिरहेका छन्। यसअघि आजै बसेको सत्तारूढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत