आइतवार, माघ ६, २०८१

कार्यकर्तालाई ‘विशेष सम्बोधन’ गर्दै प्रचण्ड


कान्तिपथ


सुरुमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीको चर्काे विरोध गरिरहेको नेकपा माओवादी केन्द्र पनि अन्ततः यसलाई संसदबाट अनुमोदन गर्न सहमत भएपछि विशेषतः पार्टीभित्रै विवाद र विभाजन देखिन थालेको छ। कतिपयले त पार्टी नै परित्याग गर्न थालेका छन्।

सत्ता गठबन्धन जोगाउन र पुनः ‘प्रतिगमनकारी शक्ति’ उठ्न नदिन भन्दै ‘व्याख्यात्मक घोषणा’सहित माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदबाट एमसीसी अनुमोदन गर्ने निचोडमा पुगेका हुन्।

सोही सहमतिअनुसार सरकारले आइतबार प्रतिनिधि सभाबाट एमसीसी बहुमतले पारित गरेको छ। तर यसले उनीहरूको पार्टीभित्र बढेको असन्तुष्टिले पार्टीमा क्षति पुग्ने खतरा देखिएको छ।

यसमा पनि खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी भित्र तथा बाहिर आलोचनाको सिकार भइरहेका छन्। यसैले यस विषयमा उनले विशेष सम्बोधनमार्फत स्पष्टीकरण दिने तयारी गरेका छन्।

उनका स्वकीय सचिव रमेश मल्लले आजै बेलुका वा भोलि मंगलबार बिहानसम्म अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने जानकारी दिए। प्रचण्डकी छोरीसमेत रहेकी अर्का स्वकीय सचिव गंगा दाहालले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको दाबी गरेकी छन्।

‘पार्टी नेतृत्वलाई विश्वास गरौं, किनभने देश र जनताको हितबाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन’, उनले भनेकी छन्। धेरै विचार र विवेक पुर्याएर यो निर्णय (एमसीसी अनुमोदन) मा पुगिएको उल्लेख गर्दै उनले संयमित भएर परिस्थितिको गम्भीरता बुझ्न आफ्ना पार्टीका नेता/कार्यकर्तालाई आग्रहसमेत गरेकी छन्।

उनले भनेकी छन्, ‘नेता/कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ, सचेत होऔं। एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष कमरेड प्रचण्डले विशेष सम्बोधन गर्नुहुनेछ।’

प्रचण्डका अर्का स्वकीय सचिव मल्लले पनि देश गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको दाबी गरेका छन्। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने निर्णयलाई उनले नेतृत्वको ‘साहस र विवेक’को उपमा दिएका छन्। ‘भावनात्मक आवेग र शीघ्र प्रतिक्रियाको पछि नकुदौं’, मल्लले भनेका छन्, ‘ड्यामेज कन्ट्रोलको नीति लिँदै परिस्थितिलाई सम्हालौं। पार्टीले खराबमध्येको राम्रो विकल्प प्रयोग गरेको हो।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत