रुसी सेनाले युक्रेनको राजधानी किएभलाई चारैतिरबाट घेरेर भीषण आक्रमण शुरू गरेको छ ।
युद्धको पाँचौं दिन रुसी सेनालाई किएभ प्रवेश गर्न गाह्रो परिरहेको छ । उनीहरू किएभको बाहिरबाहिर लडाइँ गरिरहेका छन् ।
त्यसले गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रोश पनि बढिरहेको छ । रिसकै सुरमा उनले आणविक हतियारलाई तयारीमा राख्न आदेश दिएका छन् ।
त्यसपछि रुसी सेनाले किएभमाथि निर्णायक आक्रमण थालेका छन् । त्यसलाई देखेर युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले अर्को २४ घन्टा जटिल हुने बताएका छन् ।
युक्रेन सरकारले मानिसहरूलाई बंकरमा जान आदेश दिएको छ । सोमवार बिहानदेखि किएभमा भयंकर विस्फोटहरू भइरहेका छन् ।
यसैबीच पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पश्चिमी मुलुकहरू रुसलाई तेस्रो विश्वयुद्धतर्फ धकेल्न खोजिरहेको आरोप लगाएका छन् । रुसविरुद्ध अमेरिका, बेलायत र अन्य मुलुकले लगाएको प्रतिबन्धका कारण युक्रेनको संकट थप चर्किएको उनीहरूको दाबी छ ।
किएभवासीहरूलाई लगभग २५ हजार राइफल र लाखौं गोली दिइएको छ । सडकमा रुसी सेना र किएभवासीबीच लडाइँ भइरहेको छ । गल्लीमा लडाइँ हुँदा किएभवासीलाई सजिलो हुन्छ किनकि उनीहरूलाई त्यहाँको सबै कुरा थाहा हुन्छ । छापामार लडाइँमा रुसी सेनालाई अप्ठ्यारो परिरहेको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ