नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विवाद अब सकिएको भन्दै गठबन्धन र सरकार अघि बढ्ने बताएका छन्। आफ्नै निवास खुमलटारमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘एमसीसी परियोजनाको विषयलाई लिएर निकै ठूलो विवाद, अन्योल, बहस भए। सबैभन्दा नेकपा माओवादी केन्द्र र नेतृत्वको हैसियतले ममाथि थुप्रै टिप्पणी पनि भए,’ उनले भने, ‘हिजोसम्म आइपुग्दा एउटा निकास दिइएको छ। यो नहुँदासम्म एउटा अन्योल थियो। अब गठबन्धन कायम रहन्छ। सरकार अघि बढ्छ। अब निर्वाचनको प्रक्रिया अघि बढ्छ।’
उनले सुरुमा आफ्नो पार्टीको नेतृत्वमा सरकार भएको बेलामा नै एमसीसीबारे छलफल, बहस सुरु भएको भन्दै पछिल्लो समय विवाद बढेको बताए। ‘नेकपाको सरकार भएको बेलामा विवादित हुन पुग्यो। एमसीसीलाई आईपीएसको अंग भनेर प्रचार गरियो। अमेरिकाका अधिकारी लगायतले पनि भने,’ प्रचण्डले भने।
‘प्रचण्ड’ ले संसदबाट एमसीसी पारित गर्दा अर्को कुनै प्रस्ताव पनि सँगै पारित गर्ने उपाय आफूले निकालेको दाबी गरेका छन् । आफूले त्यसबेला संसदबाट अर्को कुनै प्रस्ताव समानान्तररूपमा पारित गर्ने कुरा राख्दा तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवा सहमत भएको प्रचण्डले बताए । पछि आफूले राष्ट्रिय सहमति बनाएर पारित गर्ने कुरा गर्दा त्यसलाई विद्रुपीकरण गरिएको प्रचण्डले गुनासो गरे ।
दाहालले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताए । ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिय, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’