सोमवार, माघ ७, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • बुथ हान्ने ‘डन सभापति’ को चुनावी फण्डा: भोटर तर्साउन कार्यकर्ताको धुलाई !

बुथ हान्ने ‘डन सभापति’ को चुनावी फण्डा: भोटर तर्साउन कार्यकर्ताको धुलाई !


कान्तिपथ


मणिराज पाण्डे, दोलखा । गुन्डा नाइके शुक्र तामाङ समूहको कुटपिटबाट दोलखा चरिकोटका ३८ वर्षीय नारायण ठकुरी घाइते भएका छन् । कुटपिटमा संलग्न तामाङ कांग्रेस दोलखा प्रदेशका क्षेत्रीय सभापति हुन् । दोलखा भीमेश्वर किराँती छापस्थित सडकमा तामाङको समूहले व्यवसायी तथा नेता ठकुरीलाई आइतबार राति कुटपिट गरेको थियो । कुटपिटबाट ठकुरीको शरीर र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते ठकुरीको दोलखा अस्पालमा उपचार भएको थियो । उनलाई तामाङ समूहले सडक छेकेर कुटपिट गरेका प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगा पौडेलले केही व्यक्तिबाट ठकुरी कुटपिट भएको र घटनामा संलग्नको खोजी भइरहेको बताए । केही व्यक्तिहरूबाट चरिकोट निवासी नारायण ठकुरी कुटपिटमा परेको जाहेरी आएको छ । घटनास्थल तथा घाइतेको चेकजाँच भएका छन् । कुटपिटमा संलग्नविरुद्ध खोजीकार्य जारी छ, उनले भने ।

प्रहरीका अनुसार घाइेत ठकुरी आइतबार साँझ दोलखास्थित गैरीमुदीबाट चरिकोट फर्कंदै थिए । तामाकोसी आइपुगेपछि ठकुरीलाई तामाङको समूहले पछ्याउँदै आएको थियो । करिब तीन किलोमिटर यात्रा तय भएपछि सडक अवरुद्ध गरेर तामाङको समूहले ठकुरीलाई रोकेका थिए । गाडीबाट झर्न नपाउँदै आफूमाथि कुटपिट भएको ठकुरीले बताए । कुटपिटमा उनीसँगै हिड्ने पारस तामाङ, ङावा शेर्पा, प्रविण खड्का, मधुसुदन चौलागाई, यम कुमार तामाङ, आशिष खड्का, आयुस भुजेल, सुमितजंग खड्का, सुमन तामाङ लगायत संलग्न रहेको स्रोतले बताएको छ ।

तामाङ्ग आपराधिक पृष्ठभूमीबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । ठकुरीसँगै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु जयराम श्रेष्ठ, सुनिता नेपाली जिल्लाकी कांग्रेस नेतृ भगवती शाही एउटै गाडीमा थिए ।

नेपाली कांग्रेस दोलखाको प्रदेश महाधिवेशन प्रतिनिधि रहेका ठकुरी २०७४ को स्थानीय तह निर्वाचनमा भीमेश्वर नगरपालिका ५ बाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । गुण्डागर्दी पृष्ठभुमीका शुक्र तामाङ गत असोजमा सम्पन्न अधिवेशनबाट कांग्रेस क्षेत्रीय सभापति बनेका थिए । जिल्लाको मैनापोखरीमा गत असोजमा क्षेत्रीय अधिवेशन हुँदा उनी सर्वसम्मत बनेका थिए ।

ज्यान मुद्धामा लामो समय जेल बसेर फर्किएका उनी जेलमा छदा समेत समुह परिचालन गरेर ठेकेदार तथा व्यवसायीको अपहरण गर्ने, उठौती धन्दा चलाउने लगायतका आपराधिक क्रियाकलाप गर्दै आएका थिए । मुद्धा दर्ता नगर्न र मिल्न ठकुरीलाई जिल्लाका कांग्रेस नेताले दबाब दिईरहेका छन् । यता नेपाली कांग्रेस दोलखाले भने आफ्नै नेताबाट कार्यकर्ता कुटिदा रहस्यमय मौनता साँधेको छ । कांग्रेस जिल्ला सभापति बर्मा लामाले आफ्ना कार्यकर्ताको संरक्षण गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ ।

तामाङकी श्रीमती सीता वम्जन तामाङ दोलखा एमालेको जिल्ला कमिटी सदस्य हुन्। भुगोलतर्फ २ जनाको महिला सिटमा वैत्येश्वर गाउँपालिकाको कोटाबाट उम्मेदवारी दिएकी उनले पहिलो मत ल्याएकी थिईन। कुल ८ सय ७ मत खसेको जिल्ला कमिटीको निर्वाचनमा सिताले ३ सय २० ल्याएकी थिइन् ।

क्षेत्रीय सभापति निर्वाचित भए पछि शुक्रले आउँदो स्थानीय चुनावमा कांग्रेसबाट वैत्येश्वर गाउँपालिका अध्यक्षको टिकट दाबी गर्दै आएका छन्। आफूले पार्टीबाट टिकट नपाए श्रीमती सीतालाई एमालेबाट पालिका उपाध्यक्षको टिकटमा दाबी गराएर चुनाव लडाउने योजनामा शुक्र रहेको स्थानीय कांग्रेस कार्यकर्ताहरूले चर्चा गर्दै आएका छन्।

पालिका अध्यक्षमा नै दाबी गरिरहेका अर्का कांग्रेसी नेताले भने क्षेत्रिय सभापतिबाट आफ्नै कार्यकर्ता कुटिनु चुनावी फण्डा भएको बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘नाम भन्यो भने त कुटिने डर छ तर पहिले जस्तै बुथ हानेर चुनाव जित्ने रणनीति अझै छ भनेर पुर्व संकेत दिन खोजिएको हो’ ।

काठमाडौँको एभरेष्ट होटलमा महेन्द्र खड्काको हत्या प्रकरणमा उनी पक्राउ परेपछि तामाङ्गको जेल यात्रा त्यहींबाट शुरु भयो । गाउँमा आएका एक जना घुमुवा चप्पल व्यापारीको हत्यामा पनि उनी राज्यको निगानीमा परेका थिए । गैरीमुदी हरेक निर्वाचनमा अशान्त हुने गरेको छ । गैरीमुदी सहित वरपरका केही वडामा उनले ‘बुथ कब्जा’ गरेर कांग्रेसलाई पालिका अध्यक्ष जिताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत