सत्तारूढ नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच अहिले (बुधबार बिहान) भेटवार्ता भइरहेकाे छ।
श्रेष्ठ निवास हरिसिद्दिमा दुई नेताबीच छलफल भइरहेकाे हाे। एमसीसी अनुमोदन भएपछि असन्तुष्ट श्रेष्ठलाई पार्टी एकता गर्ने प्रस्ताव लिएर विप्लव उनकाे निवास पुगेकाे स्रोतले जनाएको छ।
यसअघि मंगलबार श्रेष्ठलाई फकाउन प्रचण्डले उनकाे निवास पुगेका थिए। श्रेष्ठले पूर्वएकता केन्द्र ब्युँताउने तयारी गरिरहेका बेला विप्लवले उनीसँग भेटेका हुन्। एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।
यता एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन । एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् ।