आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • गोली चलेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरे, पेस्तोलसहित पक्राउ परे तीन

गोली चलेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरे, पेस्तोलसहित पक्राउ परे तीन


कान्तिपथ


बाँकेमा स्वचालित पेस्तोलसहित तीन युवक पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का २८ वर्षीय दीपेन्द्र अधिकारी, नेपालगञ्ज १८ का २२ वर्षीय सुशान्त केसी र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३२ वर्षीय द्वारिका उपाध्याय छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले मंंगलबार राति ९ बजे उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। डुडुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती नदीको पुलनजिक गोली चलेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यो सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टी (क) बाट खटिएको प्रहरी टोलीले नेपालगञ्जदेखि राप्ती नदीको पुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर चेकजाँच गर्ने क्रममा मेडइन यूएस लेखेको अटोमेटिक पेस्तोलमा लोडेड ७ थान गोलीसहित बरामद गरेको प्रवक्ता न्यौपानेले बताए।

सुशान्त केसीले चलाइरहेको गाडीको चालक सिटको बायाँतर्फको सिट कभरभित्र सात राउन्ड गोली लोड भएको स्वचालित पेस्तोल र त्यसमा लाग्ने दुई थान गोली समेत बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए। उक्त गाडीबाट एक थान खुँडा र दुई थान नकसमेत प्रहरीले बरामद गरेको थियो। डिएसपी न्यौपानेका अनुसार दीपेन्द्र अधिकारीका यसअघि बाँके प्रहरीमा विभिन्न शीर्षकमा आठ वटा मुद्दा छन्। ‘ज्यान मुद्दा, जबरजस्ती करणी, लागुऔषध, चोरी लगायत विभिन्न घटनामा संलग्नबारे दीपेन्द्रका नाममा आठ वटा थप मुद्दा यसअघि परेको देखिएको छ,’ डिएसपी न्यौपानेले भने, ‘प्रारम्भिक सोधपुछका क्रममा तीन महिना पहिले त्यो पेस्तोल भारतबाट किनेर ल्याएको भन्ने खुलेको छ।’ तीन महिना पहिले दीपेन्द्रले नै भारतको लखनउबाट अली भन्ने व्यक्तिसँग ५० हजारमा उक्त पेस्तोल किनेर ल्याएको भनेर बयान दिएको डिएसपी न्यौपानेले जानकारी दिए। त्यस्तै, अनुसन्धानबाट खुँडा सुशान्तको रहेको र थप दुई थान नक पनि दीपेन्द्रकै रहेको भन्ने खुलेको न्यौपानेले बताए।

‘राप्ती नदी किनारमा दुई राउन्ड फायर भएको देखिन्छ,’ न्यौपानेले भने, ‘अनुसन्धानबाट उक्त फायर दीपेन्द्रले नै गरेको खुल्न आएको छ।’दीपेन्द्र यसअघिका विभिन्न मुद्दामा पक्राउपछि धरौटीमा छुटेको भए पनि २०७७ साल मंसिर ११ गते नेपालगन्ज २ का सहर्ष विक्रम शाहलाई बागेश्वरी मन्दिर नजिक खुकुरी प्रहार गरेपछि शाहले दिएको ज्यान मुद्दाका फरार प्रतिवादी समेत हुन्। शिवरात्रिको दिन दीपेन्द्र र सुशान्त बाँकेको पार्वतीपुर मन्दिर, बर्दिया बाँसगढीको शिव मन्दिरमा गएर फर्किएर आउँदा बाँकेको पुष्पलाल चोकमा द्वारिका पौडेलसँग भेट भएपछि पौडेलको राप्ती नदी पारिको जग्गा हेर्न भनेर बेलुकी नेपालगन्जबाट निस्किएको प्रहरीले जानकारी दिएको छ। त्यही क्रममा दीपेन्द्रले पेस्तोलमा गोली लोड गरी दुई राउन्ड फायर गरेको खुल्न आएको डिएसपी न्यौपानेले बताए। मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को उपदफा १३० अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत