शैलुङ्गमा साहित्यक-सांस्कृतिक महाेत्सव हुने भएकाे छ । रामेछाप र दोलखाको सिमानामा रहेको रमणीय पर्यटकीय क्षेत्र शैलुङ्गमा फागुन २० गते साहित्यिक महोत्सव हुन लागेकाे हाे । महोत्सवको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा देशका प्रतिष्ठित साहित्यकारहरूको सहभागीता रहने छ ।
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका, दोलखाको शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाले कार्यक्रमको व्यवस्थापन गर्ने भएका छन् । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का तथा दोलखाको जिल्ला समन्वय समिति प्रमुख डवलकाजी पाण्डेको उपस्थितिमा आइतबार दोलखाको कालापानीमा बसेको बैठकले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रमको प्रचारका लागि निकालिएको फ़्लाएरमा केपी ओलीलाई राजनेताको रुपमा सम्बोधन गरिएको छ । निजि क्षेत्र र पार्टीको तर्फबाट गरिने उक्त किसिमको प्रचार स्वाभाविक मानिए पनि शैलुङ्ग गाउँपालिकाले निकालेको विज्ञप्तिमामा समेत ओलीलाई राजनेताको रुपमा सम्बोधन गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष दाहालद्वारा हस्ताक्षरित निमन्त्रणा विज्ञप्तिमा उक्त कुरा लेखिएको छ । सरकारी कर्मचारीले ओलीलाई किन राजनेता लेखे भनेर पालिका कै अन्य कर्मचारीले बुझ्न सकेका छैनन् ।
शैलुङ्ग गाउँपालिकाका अध्यक्ष भरत दुलाल नेकपा (एमाले) का नेता हुन् । जिल्ला अध्यक्षमा पराजित दुलाल सरकारी लेटरहेडमा आफ्ना अध्यक्षलाई राजनेता लेखेर एकपटक फेरी चिप्लिएका छन् । नेकपा एमाले जिल्ला कमिटीले ओलीको स्वागतमा बनाएको ब्यानरमा भने कमरेड सम्बोधन गरिएको छ ।