रातभर हुरीसहित असिनापानी परेपछि बिहानीपख आँगन र बाटोघाटो हेरिनसक्नु हुन्छ । आकाश खुले पनि जमिनमा पात पतिङ्गर यत्रतत्र छरिन्छन् । चराका गुँड रुखबाट भुइँमा झरेका भेटिन्छन् । रुखका हाँगाहरु लत्रिएका हुन्छन् । युद्धपछिको सन्नाटाजस्तै देखिन्छ दर्केपानीपछिको बिहानी ।
आइतबार एमसीसी पारित भइसकेपछि सोमबारयताको राजनीतिक आँगन पनि लगभग त्यस्तै प्रतीत भएको छ, भीषणयुद्धपछिको सन्नाटाझैँ । नेपाली काँग्रेस जीतको मुद्रामा छ । माओवादी र एकीकृत समाजवादी गुँड भत्किएका अनि रातभर भिजेका चराजस्तै देखिएका छन् । देशको सबैभन्दा ठूलो दल नेकपा एमाले अलग्गै ठुटामा बसेर गीत गाइरहेको जुरेलीजस्तै देखिएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनको विषयलाई लिएर योसाता सत्ता गठबन्धन झण्डै–झण्डै फुट्ने अवस्थामा पुग्यो । सत्ता गठबन्धनमा विवाद बढेपछि प्रतिपक्षी दल नेकपा एमालेको महत्त्व एकाएक बढ्यो ।
एमसीसी सम्झौताको विपक्षमा उभिने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग गठबन्धन बनाउने निधोमा पुगे । त्यसलगत्तै एमालेसँग सहकार्यको प्रस्ताव बोकेर देउवासहितका नेताहरू ओली निवास बालकोटसम्म पुगे । बानेश्वरमा पनि एमाले काँग्रेसका नेताहरुबीच तारन्तार छलफल भयो ।
काँग्रेस र एमालेको सत्ता सहकार्य सुरु हुने अनि प्रचण्ड र माधव नेपालको पार्टी ‘सडकमा पुग्ने’ सम्भावना डिलडिलसम्मै पुगिसकेको थियो । यही क्रममा काँग्रेससँग खटपट परेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि केपी ओलीसँग भेटवार्ता गरे । सत्ता गठबन्धनका प्रमुख नेताहरूले नै ओलीसँग तारन्तार छलफल गर्न थालेपछि राजनीतिमा एमालेको महत्त्व बढ्नु स्वाभाविकै थियो ।
फागुन १५ गते राति प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित ध्वनिमतका आधारमा पारित भएपछि भने सत्ता गठबन्धन जोगिएको छ । सत्ता गठबन्धन जोगिएसँगै एमाले–काँग्रेसबीचको उधारो राजनीतिक कारोबार पनि ‘बाउन्स चेक’ मा परिणत भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ