अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन भएपछि माओवादीभित्र विवाद उत्पन्न भएको छ। श्रेष्ठ लगायत केही नेता यसको विरोधमा उत्रिएका छन्। चन्द नेतृत्वको नेकपाले एमसीसी सम्झौता विरुद्ध देशव्यापी विरोध कार्यक्रम सार्वजनिक गरेको छ। त्यसै क्रममा २० फागुनमा हुने विरोध कार्यक्रममा सहभागिताका लागि भेटेको श्रेष्ठले बताए।
“एमसीसी सम्झौता विरुद्ध २० फागुनमा हुने कार्यक्रमका लागि कमरेड विप्लवले निम्ता दिनुभएको हो,” नेता श्रेष्ठले भने, “पार्टी एकताका लागि छलफल भयो भन्नु वाहियात हो। एकताको कुराकानी भएको छैन।” नेता श्रेष्ठलाई भेट्न बुधबार बिहान चन्द उनको निवास पुगेका थिए। भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ। हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव रहेका विप्लवले प्रचण्डले हरिसिद्धी पुगेर फकाउने प्रयास गरेका नेता श्रेष्ठसँग बुधबार बिहान छलफल गरेका छन् । त्यसक्रममा विप्लवले राजनीतिक सहकार्य गर्न प्रस्ताव गरेका छन् ।
नेकपा एमालेसँग एकता गरेर नेकपा हुँदै पार्टी पुरानै अवस्थामा फर्कदा सांगठनिक रुपमा प्रचण्डलाई ठूलो घाटा र राजनीतिक रुपमा ठुलो फाईदा हाता लागेको छ । रामबहादुर थापासहितका वरिष्ठ नेताहरुले एमाले रोजेपछि र माओवादी तर्फ मतदाता र कार्यकर्ताको आकर्षण घटिरहँदा महत्वपूर्ण नेता श्रेष्ठ सहितको समूह कतै आफूबाट टाढिने पो हो कि भन्ने शंका पनि प्रचण्डमा छ । यस्तोमा विप्लवले नेकपा एकीकृत समाजवादमा एमसीसीको सवालमा असन्तुष्ट देखिएका झलनाथ खनाल र एमालेमा असन्तुष्ट भीम रावल लगायतसँग समेत छलफल गरेर अघि बढ्ने विषयहरु बाहिरिँदा प्रचण्ड थप तनावमा परेका छन् ।
प्रचण्ड निकटका कतिपय नेताहरुले भने प्रचण्ड अभिव्यक्तिमा चुकेको भए पनि त्यसलाई नेता श्रेष्ठले भागवण्डाको हतियार बनाएको तर्क गर्छन् । ‘असन्तुष्टिलाई पार्टीको बैठकमा राखेर अघि बढ्नु पर्नेमा समस्यालाई बाहिर उजागर गरेर उहाँले बार्गेनिङ गर्न खोज्नु भएको छ’ प्रचण्ड निकटका एक नेताले आरोप लगाए ।
‘पार्टी एकतादेखि अहिलेसम्म नारायणकाजी श्रेष्ठको कोटामा एक जना मन्त्री अनिवार्य हुन्थ्यो । उनी आफैं र धेरै समय गिरिराजमणि पोखरेललाई मन्त्री बनाइरहे । यसपटक उनी अञ्जना बिशंखेलाई आफ्नो कोटामा मन्त्री बनाउन चाहन्थे । नारायणकाजीको इच्छा विपरीत लीलामणि पोखरेललाई अध्यक्ष प्रचण्डले चेपेर उनकी श्रीमती शशी श्रेष्ठलाई मन्त्री बनाए । यो कुरा नारायणकाजीलाई माइनस गरेको अनुभूत भएको छ ।’ लीलामणि पोखरेल र शशी श्रेष्ठले आफ्नो समूह च्यापेर प्रचण्डले आफ्नो समूह भित्र खेलेको नारायणकाजीलाई लागेको हुन सक्छ।
केन्द्रीय समितिको पटकपटक स्थगित वैठक फागुन २० गते बस्दैछ । राष्ट्रियसभा गृहमा विहान ११ बजे बस्ने सो वैठकले थाती रहेको पोलिटब्युरो, स्थायी समिति र खाली रहेको केन्द्रीय सदस्य बनाउने सम्भावना छ । टुंग्याउन बाँकी रहेको पदाधिकारीको पनि यस वैठकले टुंगो लगाउने विश्वास लिइएको छ । नारायणकाजी श्रेष्ठ आफू वरिष्ठ उपाध्यक्ष र महासचिवमा गिरिराजमणि पोखरेललाई बनाउन चाहन्छन । वरिष्ठ उन्नी हुने कुरा त पक्कापक्की जस्तै छ । महासचिवमा गिरिराजमणि पोखरेलको सम्भावना देखिदैंन । अरु बेला शान्त हुने गिरिराजमणि अहिले बढी आक्रामक हुँदै प्रचण्ड विरुद्ध अन्तर्वार्ता दिंदै हिड्नुको कारण पनि यही हुन सक्ने आंकलन गरिएको छ ।
तत्कालीन माओवादीले अपनाएको दीर्घकालीन सशस्त्र जनयुद्धको कार्यदिशासँग असहमत भई बेग्लै पार्टीको ‘फस्टम्यान’ भएर संसदीय राजनीतिको अनुभव संगालेका श्रेष्ठसंङ्ग चुनाव जितेको अनुभव छैन । पूर्वउपप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वगृहमन्त्रीसमेत रहिसकेका श्रेष्ठ सरकारका प्रवक्ता एवं संविधानसभाको सदस्यसमेत भइसकेका नेता हुन् । गत प्रतिनिधिसभाको चुनावमा गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भएका उनी अहिले राष्ट्रियसभामा निर्वाचित सांसदको भूमिकामा छन् ।
श्रेष्ठले व्यक्तिगत रुपमा फरक मान्यता स्थापित गर्ने प्रयास गर्दै आएको पाइन्छ, कसैले त्यसलाई स्टन्ट पनि भन्छन । जस्तो- केही वर्ष पहिले उनले सार्वजनिक यातायातमा हिँड्ने अभ्यास गरे । तर, केहीसमय पनि त्यो व्यवहारिकरुपमा सम्भव भएन, प्रचण्डसंग उनकै गाडी मागेर चढ्न थाले । चुनावमा पनि कम खर्च गर्ने नीति लिए । तर, मकवानपुर र गोर्खामा लडेका दुबै चुनावहरु जितेनन् ।
श्रेष्ठका यस्ता कदमहरुले उनी फरक नेताका रुपमा स्थापित हुन खोजे पनि आलोचकहरुले उनलाई सस्तो लोकपि्रयताका लागि त्यसो गरेको भन्ने गरेका छन् । सांसदको तलब नलिँदा कुन स्रोतले चल्ने भन्ने प्रश्न उठाउने गरिएको छ र व्यवहारिक बन्न शुभेच्छुकहरुले आग्रह गर्ने गरेका छन् । Photo: Nepali Headlines
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ