शुक्रबार, असार ६, २०८२

दोलखाको ऐतिहासिक सम्पदा पुनर्निर्माण


कान्तिपथ


दोलखा-ऐतिहासिक नगरी द्वाल्खालाई सम्पदा बस्तीका रूपमा पुनर्निर्माण गरिएको छ । ७ वर्षअघि विनासकारी भूकम्पले ढलेका सम्पदा र बस्ती पुनर्निर्माणसँग परम्परागत शैली झल्कन थालेको छ । अभयपुर राज्यको नामले चिनिने भीमेश्वर नगरपालिका–२ स्थित सांस्कृतिक तथा पुरातात्विक द्वाल्खा क्षेत्रलाई सम्पदा बस्तीका रूपमा २०७५ देखि पुनर्निर्माण गर्न थालिएको हो ।

जिल्लाभरका धेरै निजी आवास पुनर्निर्माण भइसक्दा पनि दोलखाको सम्पदाबस्ती परम्परा झल्कने गरी पुनर्निर्माण गर्नुपर्ने र बहु स्वामित्व विवादले पनि लामो समय पुनर्निर्माण सुरु हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले ६ वटा स्थानमा सम्पदा बस्ती पुनर्निर्माण गर्ने घोषणा गरेमध्ये दोलखा जिल्लाको द्वाल्खाबजार परेको थियो । अहिले त्रिपुरासुन्दरी मन्दिर, तलेजु भवानी, कुमारी घर, भण्डार घरलगायतका संरचना पुनर्निर्माण पूरा भएका छन् ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी दोलखाका मुख्यमुख्य सम्पदा पुनर्निर्माण भएको र अझै साना धेरै सम्पदा पुनर्निर्माण बाँकी नै रहेको बताए । दोलखा सम्पदै सम्पदाले भरिपूर्ण भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पनि पहल भइरहेको बताए ।

सम्पदा बस्तीभित्र ५ सय ६ घरधुरी रहेकोमा २ सय ६१ जना सम्पदा बस्तीका लागि समावेश भइसकेका छन् । द्वाल्खाको नाम अपभ्रंश हुँदै दोलखा नामबाट पछिल्लो समय चिनिन्छ । सम्पदा बस्तीभित्र घर पुनर्निर्माणपछि एतिहासिक सहर दोलखाको रूप नै फेरिन थालेको छ । पुराना कच्ची घर ढलेपछि अहिले आधुनिक घरहरू बनेका छन् । आरसीसी, पक्की घर बनाए पनि अगाडिको भागमा इँटा देखाउने, सटर नराख्ने र मौलिक ढाँचाको डिजाइनअनुसार स्थानीयले घरहरू निर्माण गरिरहेका छन् ।

दोलखाको इतिहास नलेखी नेपालको इतिहास पूर्ण हुन नसक्ने बताउँदै आएका संस्कृतिका जानकार शान्तकृष्ण श्रेष्ठ सम्पदा र बस्ती पुनर्निर्माणमा अवसर भएको बताए । विनासले पनि अवसर दिन्छ भने झैं दोलखालाई बलियो र आकर्षक बनाउन भूकम्पले पनि अवसर दिएको छ । घर पुनर्निर्माणमा थोरै अनुदानमा स्थानीयले आकर्षक घर बनाए तापनि काठमाडौं बस्ने दोलखाबासीले अझै पुनर्निर्माण भने गरेका छैनन् ।

सम्पदा बस्तीमा पुराना सम्पदाको संरक्षण, निजी घरअगाडिको भाग मौलिक ढाँचामा पुनर्निर्माण गर्नुका साथै जात्रा पर्व मार्ग, पदमार्ग निर्माण, धारा तथा पोखरी संरक्षण गर्ने कार्य जारी छ । द्वाल्खालाई मल्लकालीन स्वरूपका घर पुनर्निर्माण गरी ऐतिहासिक र पुरातात्विक महत्व कायम राख्ने योजनाका लागि भीमेश्वर नगरपालिका–२ वडा कार्यालयले निःशुल्क नक्सा बनाउँदै आएको छ ।

द्वाल्खामा करिब २ सय घर बहुस्वामित्वमा रहेका छन् । निजी घर पुनर्निर्माण गर्नुपर्ने घरधनीलाई मौलिक र पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेसमेत जनाएको थियो । पुनर्निर्माणपछि बस्ती परम्परा झल्काउन स्थानीयसमेत लागिपरेका छन् । स्थानीय बस्तीको रूप फेरिन थालेपछि अब सुस्ताउँदै गएको पर्यटक फेरि आकर्षित हुनेमा भरतनारायण प्रधान विश्वस्त छन् ।

भीमेश्वर मन्दिरको मुख्य धार्मिक गन्तव्य रहेको द्वाल्खा सहर मन्दिर र परम्परागत सम्पदाले भरिपूर्ण छ । नेवार जातिको बसोबास रहेको यो क्षेत्रमा हरेक पर्वमा जात्रा लाग्छ । यहाँको भाषा, संस्कृति भिन्न छ । ऐतिहाँसिक तथा पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण गर्न स्थानीय पनि चन्दा उठाएर पुनर्निर्माणमा जुटिरहेका छन् । पुनर्निर्माण पूरा भएपछि द्वाल्खा सहर पुनः पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत