आइतवार, बैशाख १४, २०८२

कांग्रेसले राष्ट्रघात गर्न जानेको छैन : महामन्त्री शर्मा


कान्तिपथ


काठमाडौँ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् । उनले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताए । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले मात्रै सुरुदेखि नै एमसीसीका बारेमा प्रष्ट धारणा राखेको बताए ।

‘फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनीहरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो,’ उनले भने, ‘कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो । तर, उहाँहरू नै बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ । कमरेड केपी ओली आफैँले मन्त्रिपरिषद्‌बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्‌मा दर्ता गराउनुभएको थियो । अहिले संसद्‌मा उहाँहरूले चार घण्टा नारा लगाउनुभयो । तर, एमसीसीकाबारेमा एक शब्द बोल्नुभएन ।’

‘कांग्रेसलाई एमसीसी पास गरौँ । तर, यो चुनाव सकेरमात्रै पास गरौँ भन्ने प्रस्ताव आएकै हुन्,’ महामन्त्री शर्माले अघि भने, ‘ए बाबा अहिले पास गर्दा राष्ट्रघाती हुने, चुनवापछि गर्दा राष्ट्रघाती नहुने कसरी हुन्छ ? राष्ट्रघात हो भने त चुनाव अघि गरेपनि त्यही हो, पछि गरे पनि त्यही हो । त्यसैले म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु, कांग्रेसले राष्ट्रघात गर्दैन, राष्ट्रघात गर्न जानेको छैन ।’उनले एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले ती युवाको भविष्यबारे सोचिरहेको दाबी गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत