पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ, भने डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ पुगेको छ ।
यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय डलर बढेको निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ ।
पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढेपनि आगामी १५ दिनमा करिब रु दुई अर्ब ५० करोड घाटा हुने निगमले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको फागुन महिनासम्म करिब रु २८ अर्ब नोक्सानी हुने अवस्था देखिएको निगमले जनाएको छ ।
रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ ।
निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।
सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब रु ५० लाख खर्च न्यूनीकरण हुने निगमले जनाएको छ ।
यस्तै निगमले बिक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ ।
कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३।३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ