अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदनमा पार्टी संलग्न भएपछि मतभेद चर्किएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे सुरु गर्ने तय भएको छ।
शुक्रबार सुरु केन्द्रीय समितिको बैठकको निरन्तरता स्वरूप आज पुनः बस्ने भएको हो। बैठक पहिलो दिन शुक्रबार राष्ट्रिय सभागृहमा बसेको भए पनि आज बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्ने माओवादी केन्द्रका पूर्वस्थायी कमिटी सदस्यसमेत रहेका केन्द्रीय सदस्य गणेश साहले बताए।
केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयन पनि बैठकको एजेन्डा रहेको उनले जानकारी दिए। गत पुस १८ गते भएको आठौं महाधिवेशनले माओवादी केन्द्रको २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। भोलिपल्ट १९ गतेको केन्द्रीय समितिको बैठकले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो। तर अन्य पदाधिकारी अहिलेसम्म चयन गर्न सकेको छैन।
आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी माओवादी केन्द्रले गरेको हो। २९९ सदस्यीय केन्द्रीय समितिमा महाधिवेशनले २४७ जना मात्र चयन गरेको छ। अब २९९ को १० प्रतिशत हेडक्वार्टरले मनोनयन गर्ने व्यवस्था छ। त्यस्तै २९९ को १५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ।
पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ। यसअघि हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच एमसीसीमा फरक मतका विषयमा छलफल भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ