शनिबार, साउन ५, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • ३ नेताको एमसीसीमा नोट अफ डिसेन्ट: केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य बन्दै

३ नेताको एमसीसीमा नोट अफ डिसेन्ट: केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य बन्दै


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताए ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए । यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतको फरक मतसहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र सबै विषय पार्टीको सम्पत्तिको रुपमा ग्रहण गरेर अर्को बैठकमा छलफल हुने बताएका हुन् ।

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डको भनाइ छ । सबै विषयहरु पार्टी कार्यालयमा पार्टी सम्पत्तिको रुपमा दर्ज भएको भन्दै प्रचण्डले यसबारे आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि छलफल गर्ने प्रस्ताव गरेका हुन् ।

उनीहरूले फागुन १८ गते नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए । सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट गरिएको छ ।

‘उक्त दिन बिहान अध्यक्षको निवास खुमलटारमा पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश इन्चार्जहरू बीच भएको अनौपचारिक छलफलमा अध्यक्ष कमरेडले राख्नु भएको उक्त प्रस्तावमा हामीले असहमति प्रकट गरेका थियौँ’, नोट अफ डिसेन्टमा भनिएको छ, ‘उक्त छलफल कुनै निश्चित पार्टी कमिटीको औपचारिक बैठक नभएकोले निर्णय पुस्तिका पठाउने र नोट अफ डिसेन्ट लेख्ने व्यवस्था भएन । अतः एमसीसी अनुमोदनसम्बन्धी हाम्रो असहमति लिखित रूपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ज गरियोस् र आउँदो केन्द्रीय समितिको बैठकमा यस विषयमा गम्भीरतापूर्वक समीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ ।’

एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् । अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्‍बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दबाब दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्यअनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको ती नेताको भनाइ छ ।

यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको उनीहरूको भनाइ छ । ‘यस प्रकरणको रणनीतिक विषयमा सदनबाट अनुमोदन पूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यतिमात्र होइन, संसदमा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसद्को बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एक दिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरियो । अतः यी विषयहरूमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गरियोस् भनी अनुरोध गर्दछौँ’, नोट अफ डिसेन्टमा भनिएको छ ।

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा विद्यार्थी, युवा र मजदुरका नेता पनि बोलाइएका छन्। रमेश मल्ल, रञ्जित तामाङ, उत्तम अधिकारी, विजय गौतम, तिलक भण्डारी, दिपक देवकोटालगायत नेतालाई बैठकमा आउन आग्रह गरेपछि उनीहरू सहभागी भएका छ्न्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत