अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएलगत्तै चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीन सरकारले विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन इच्छुक रहेको सन्देश कुटनीतिक च्यानलबाट हालै काठमाडौँ पठाएको छ।
संसदबाट एमसीसी सम्झौता पास भएलगत्तै, एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको हो। नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणका लागि अमेरिकाले दिने करिब ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिँदै आएको दबाबप्रति बेइजिङले खुला रुपमै असन्तुष्टि जनाएको थियो। चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न पनि दबाब दिएको थियो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए। यद्यपी उनले कुन देशबाट कुन तहको भ्रमण हुन लागेको भन्ने स्पष्ट खुलाएका थिएनन्।
मन्त्रालयका ती अधिकारीका अनुसार मन्त्री खड्काले खुलासा नगरेका मध्ये एउटा भ्रमण चिनियाँ विदेशमन्त्री वाङको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेयता वाङ नेपाल आउने संभवतः पहिलो वरिष्ठ अधिकारी हुनेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ