सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्ध उच्च अदालत (विराटनगर) मा परेको जबर्जजस्ती करणी मुद्दाकाे सुनुवाइ आज (बुधबार) हुने भएको छ। अदालतले आफ्नो वेबसाइटमा राखेको सूचनाअनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो। सिद्धबाबाका नामले परिचित धरानको चतराधाममा बस्ने कृष्णबहादुर गिरीविरुद्ध आफ्नै अनुयायी महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा २०७७ चैत २६ गते मुद्दा दर्ता भएको हो।
यसअघि सुनसरी जिल्ला अदालतले २०७७ मंसिर २२ गते उक्त मुद्दाको फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले बलात्कार नै भएको जिकिर गर्दै सिद्धबाबालाई कारबाही नै हुनुपर्ने माग राखेर उच्च अदालत (विराटनगर) मा पुनरावेदन दिएकी हुन्।
उता प्रतिवादी गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रह्मचर्यमा प्रश्न उठाएको भन्दै सफाइको माग गरेर उच्च अदालतमै मुद्दा हालेका छन्। सोलुखुम्बु घर भएका गिरी सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बसेर आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्थे। तर उनैले आफूलाई बलात्कार गरेको भन्दै एक जना भक्तालु महिलाले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर (काठमाडौं) उजुरी गरिन्। उजुरीमा उनले कात्तिक ४ गते सिद्धबाबाले आश्रममै बोलाएर आफूलाई बलात्कार गरेको उल्लेख गरेकी छन्।
उक्त घटनाविरुद्ध २०७६ पुस १० गते जिल्ला अदालत (सुनसरी) मा मुद्दा दर्ता गरिएकामा २०७७ मंसिर २२ गते फैसला सुनाइएको थियो। न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गरेको फैसलामा सिद्धबाबाले करणी गरेको तर सहमतिमै गरेको उल्लेख छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ