नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे पार्टी निर्णय विपरीत ‘स्टाटस’ लेख्नेहरुप्रति कठोर सुनिएका छन्। बुधबार सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले पार्टीको निर्णय विपरीत लेख्नेहरुलाई गल्ती सच्याउन भनेका हुन्।
उनले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने बताए। अनि मात्रै त्यो पुरानो पार्टीभन्दा भिन्न हुनसक्ने उनको भनाइ छ। उनले बैठकमा घनीभूत छलफल गर्ने तर बहुमत भएन भने र अल्पमतमै रहने स्थिति बन्यो भने बहुमतको निर्णय मान्न बाध्य हुनुपर्ने बताए।
अध्यक्ष नेपालले नेपालको सन्धि ऐन, नेपालको कानुनी प्रावधान, एमसीसीको सहमति सबै कुरालाई ध्यान राखेर व्याख्यात्मक घोषणा संसद्ले पारित गरेपछि, एमसीसीको अंग बन्ने सिर्जना भएपछि आफूहरुले एमसीसीलाई अनुमोदन गरेको बताए।
एमसीसीसँग जोडिएका विषयलाई आफ्नो राजनीतिक प्रतिवेदनमा पनि राखेको र पुरक दस्तावेज पनि उपलब्ध गराउने उनको भनाइ छ। ‘यसमा हाम्रा केही कमरेडहरुको फरक मत छ। फरक मतलाई पनि हामी अन्यथा लिँदैनौँ। कम्युनिस्ट पार्टीभित्र विचारहरुको भिन्नता हुनसक्दछ। कोही पनि नेताको हुनसक्दछ। कुनै पनि कमिटीभित्र हुनसक्दछ। तर, ती मतभिन्नताहरु कमिटीभित्र मात्रै सीमित हुनुपर्दछ। बाहिर पार्टीको धारणा व्याख्या गर्नुपर्दछ’, उनको भनाइ छ।
एमसीसी पास नगरेको भए सभामुख हटाउने, आफूसहित १४ सांसदको पद खारेज गर्ने र नेकपा एसको वैधानिकता नै समाप्त पारेर आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भएको नेपालले बैठकमा बताए ।
केपी ओलीले बिनाशर्त एमसीसी पास गरेर आफूहरूलाई समाप्त पार्ने भएपछि त्यसमा संशोधन गरेर भए पनि पारित गरेर गठबन्धन जोगाइएको नेपालले बैठकमा बताए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा अरु दलसँग तालमेल गरेर एमालेलाई पराजित गर्ने बताए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ