एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रता पाएपछि छाडापन पनि बढेको बताएका छन् । स्वतन्त्रताको नाममा नेपालमा पछिल्लो समय बढी नै छाडापन बढेको उनले बताए ।
आज (शुक्रबार) पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनको उद्घाटन पश्चात् सम्बोधन गदै ओलीले भने, ‘स्वतन्त्रता पाएपछिहामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सही सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ । आम सञ्चारका माध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन बढेको छ । अबको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ ।’
उनले प्रेस स्वतन्त्रता आवश्यक रहेको तर नियन्त्रित हुनु जरुरी रहेको पनि बताए । नेपालमा अहिलेसम्म कुनै पनि शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको बताउँदै ओलीले प्रेस स्वतन्त्रताको लामो इतिहास नरहेको बताए ।
राणकालमा किताब लेखेकै भरमा जेल जानुपर्ने र लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै ओलीले भने, ‘२००७ सालपछि मात्र बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलाएको हो । तर २०४६ सालपछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग राम्रोसँग गर्न पाइयो ।’ प्रेस स्वतन्त्रता मानव अधिकारकै विषय रहेको बताउँदै तर यसको सदुपयोग हुनुपर्नेमा उनको जोड थियो ।
ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए ।
उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । ‘जनादेशको माखौल उडाइएको छ । जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको छ । सेटिङमा सब काम भइरहेको छ।’ उनले भने, ‘यी कुरा लोकतन्त्रको पक्षमा होइन । एक जना न्यायाधीशको अभिव्यक्तिमा होइन । एउटा इमेल आउँछ, अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ