प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।
जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् । कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।
आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रीत गरेका छौं । जनताका कुरा सुन्छौं, हाम्रा कुरा भन्छौं । कांग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौं’, प्रवक्ता महतको भनाई छ ।
अभियानका दौरान कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ । कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ । त्यस्तै कांग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरुलाई प्रशिक्षणसमेत दिनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ