नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र उनको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्ध सर्वाेच्च अदालतमा दर्ता रिट निवेदन सुनुवाइका लागि आज (आइतबार) पेसी तोकिएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार जुडालको इजलासमा तेस्रो नम्बरमा पेसी तोकिएको हाे। एमालेले कारबाही गरे पनि सभामुखले कारबाही नगरेको र उनीहरुले त्यसैका आधारमा नेकपा एकीकृत समाजवादी गठन गरेको भन्दै केपी शर्मा ओलीका तर्फबाट रिट निवेदन दायर भएको हाे।
त्यही विषयका लागि प्रमुख प्रतिपक्षी एमालेले भदौ यता निरन्तर प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको छ। यसअघि १० पटक पेसी ताेकेर पनि उक्त रिट निवेदनकाे सुनुवाइ स्थगन गरिएकाे थियो। आजको पेसी सुरुमै भएकाले पालो आउने सम्भावना निश्चितजस्तै छ।
एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखलगायतलाई विपक्षी बनाएर गत भदौ १७ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन्। यसअघि न्यायाधीश दीपक कुमार कार्की र कुमार चुडालको इजलासले निर्वाचन आयोग र संसद् सचिवालयसँग लिखित जवाफ र सक्कल कागज माग्ने आदेश दिएको थियो। अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ