प्रतिनिधिसभाको आइतबार बैठक सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्न थालेका छन् ।
एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले एमाले सांसद् भीम रावललाई ५ मिनेटसम्म बोल्ने समय दिएका छन् । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग सम्बन्धीको प्रस्तावमाथि छलफल हुने छ । दैनिक कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गर्ने कार्यसूची छ ।
एमालेको अवरोधकैबीच एमाले सांसद डा.भीम रावलले भने सभामुखसँग समय लिएर सदनको कारवाहीमा भाग लिएका छन् । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेपनि रावलले भने हात उठाएर बोल्न समय मागेका थिए । सभामुखले ५ मिनेटको समय दिएपछि रावलले महाकाली पारी नेपाली भूमीमा भारतीय पक्षले डोजर लगाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
रावलले आफ्नै पार्टीको नीतिविपरीत संसदमा समय लिएर बोलेका हुन् । यसअघि पनि एमालेले अवरोध जारी राख्दा रावल एमसीसीमाथिको छलफलमा सहभागि भएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ